सेती प्रादेशिक अस्पतालमा खोप सेवा पुनः सञ्चालन हुने

  बैशाख १२, २०७७

कैलाली, वैशाख १२ : धनगढीको सेती प्रादेशिक अस्पतालमा लकडाउनका कारण प्रभावित रहेको खोप सेवा पुनः सञ्चालन हुने भएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी रहदा नियमित खोप सेवा प्रभावित भएकाले एकापसमा सामाजिक दूरी कायम राखी खोप सेवा सञ्चालन गरिने अस्पतालद्वारा यहाँ जारी सूचनामा उल्लेख गरिएको छ ।

बालबालिकाका लागि लगाइने विभिन्न खोपहरु हप्ताको दुई दिन अर्थात् सोमबार र शुक्रबार बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म सेवा लिन सकिने जारी सूचनामा जनाइएको छ ।

त्यस्तै प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवा दिइने भएको छ । लकडाउनले खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए ।

कुटपिटको आरोपमा श्रीमान् पक्राउ
धनगढी उपमहानगरपालिका–९ की ३८ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वडा नं ९ की मनुदेवी भट्टलाई ३९ वर्षीय श्रीमान् चन्ददेव भट्टले कुटपिट गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते श्रीमती भट्टको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया