चितवनका दुई संक्रमितमध्ये एकको रिपोर्ट नेगेटिभ

  बैशाख १२, २०७७

चितवन, वैशाख १२ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएपछि पहिलोपटक बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको हो ।

चैत ३ गते बेलायतबाट आएका राप्ती–८ ब्रह्मनगरका आमाछोरामा गत शुक्रबार कोरोना पुष्टि भएको थियो । आरडीटीमा पोजिटिभ देखिएपछि उनीहरूलाई वैशाख ३ गतेदेखि नै आइसोलेसनमा राखिएको थियो । पछिल्लो परीक्षणमा आमाको रिपोर्ट भने पोजिटिभ नै देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आए पनि छोरा तत्काल डिस्चार्ज हुने छैनन् । ‘उपचारमा रहँदा जसको पोजिटिभ आयो उसको ७२ घण्टापछि र नेगेटिभ आएका व्यक्तिको २४ घण्टापछि फेरि स्वाब परीक्षण गर्नू भन्ने छ। हामी त्यही गाइडलाइनअनुसार काम गरिरहेका छौं,’ अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने ।

संक्रमित आमाको उमेर ६१ वर्ष र छोराको उमेर २७ वर्ष छ। उनीहरूको सम्पर्कमा आएका सय जनाको आरडीटी गरिएकोमा आठ जनाको पीसीआर परीक्षण पनि गरिएको छ। ती सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताए । ‘ती आठ जना संक्रमितका आफन्त र परिवारका सदस्य हुन्,’ उनले भने ।

संक्रमितको सम्पर्कमा रहेका १० जनालाई सामुदायिक क्वारेन्टाइन र सय जनालाई होम क्वारेन्टाइमा राखेको उनले जानकारी दिए । बेलायतबाट फर्केको महिना दिन बित्दा पनि आमाछोरामा कोभिड–१९ को कुनै लक्षण देखिएको थिएन । उनीहरूको स्वास्थ्यस्थिति सामान्य नै रहेको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया