प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने भैंसेपाटी बैठकको निष्कर्ष

  बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : सरकारबाहिर रहेका नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्‍काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् । बिहीबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमको भै‌सीपाटीस्थित निवासमा भएको भेलाले उक्तनिश्कर्ष निकालेको हो ।

स्रोतका अनुसार अध्यादेश जारी गरेर सरकारले ठीक नगरेको र पार्टीलाई ठूलो क्षति पुर्‍याएको र तुरुन्तै फिर्ता गर्नुपर्ने भेलाले निचोड निकालेको छ। भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा सचिवालय सदस्यहरु बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली निकट महासचिव विष्णु पौडेलसहितको भेलाले निकालेको यो निश्कर्षलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

उक्त भेलाले स्थायी कमिटी बैठक र सचिवालय बैठक बोलाउनुपर्ने निचोड पनि निकालेको स्रोतले बतायो। ‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुभयो भने एकदुई दिनपछि पनि यी बैठक बोलाए हुन्छ,’ स्रोतले भन्‍यो, ‘नत्र तुरुन्तै स्थायी कमिटी र सचिवालय बैठक डाकिन्छ ।’ यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यादेशबारे छुट्टाछुट्टै परामर्श गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

नेताहरुका अनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना छ । बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया