‘कोभिड–१९ विरूद्धको लडाईंमा अन्तराष्ट्रिय सहकार्यका लागि बेइजिङ तयार’

  बैशाख ११, २०७७

बेइजिङ, वैशाख ११ : चीनले कोभिड–१९ को प्रकोपसँग जुझ्नेबारे अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

मन्त्रालयका प्रवक्ता कङ सुवाङले नियमित पत्रकार भेटमा उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका हैसियतमा कोभिड–१९को सम्भावित भिडियो सम्मेलनबारे गरिएको प्रश्नको उत्तरमा उहाँले चीनले आवश्यकता अनुसार जिम्मेवारी लिन तयार रहेको बताउनुभएको हो ।

“कोभिड–१९ को प्रकोप विश्वव्यापीरूपमा फैलिइरहेका समय संयुक्तरूपमा लड्ने ऐक्यवद्धताबाट नै अन्तर्राष्ट्रिय समुदायले यस महामारीलाई पार लगाउन सक्नेछ,” उहाँले भन्नुभयो । समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यका सबै प्रस्तावप्रति चीनको सधैँ सकारात्मक धारणा रहेको उहाँले बताउनुभयो ।

“सम्मेलन सही समयमा हुन लागेको छ । हामीलाई विश्वास छ विश्व समुदायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध विश्वव्यापी लडाईंमा सहयोगका लागि ऐक्यवद्धता व्यक्त गर्नेछ,” कङले बताउनुभयो । चीनले सबै सम्वद्ध पक्षसँग यसबारे सूचना आदानप्रदान गर्न चाहन्छ,” उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया