मध्यपश्चिम विश्वविद्यालयद्वारा सेनिटाइजर उत्पादन

  बैशाख ११, २०७७

सुर्खेत, वैशाख ११ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले ह्याण्ड सेनिटाइजर उत्पादन गरेको छ । मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा ह्याण्ड सेनिटाइजर उत्पादन गरिएको हो । सेनिटाइजर उत्पादन कार्यको अनलाइन उद्घाटन उक्त विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले गर्नुभयो ।

सो कार्यको प्रारम्भ गर्दै उपकुलपति प्राडा सिंहले सेनिटाइजर उत्पादन विश्वव्यापी महामारीका रुपमा फैलिएको ‘कोभिड–१९’ बाट तत्कालका लागि सुरक्षित हुन र दीर्घकालीनरुपमा उद्यमशीलतासँग जोड्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई समुदाय र इन्डस्ट्रीसँग जोड्दै उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धि एवं समाज सेवासँग जोड्न यो सेनिटाइजर उत्पादन कार्य कोशेढुङ्गा सावित भएको छ ।”

रजिष्ट्रार सह–प्राध्यापक यमबहादुर कार्कीले विश्वविद्यालयले व्यवहारिक र प्रायोगिक शिक्षालाई जोड्ने गरी गरिएको यस कार्यले प्रतिकूल परिस्थितिलाई समेत अनुकूल बनाउन सहयोग पुगेको टिप्पणी गर्नुभयो । उक्त परियोजना समन्वय समितिका संयोजक तथा शिक्षाशास्त्र सङ्कायका सहायक डीन विष्णुकुमार खड्काले शुक्रबारदेखि नै विश्वविद्यालयको लोगो रहेको स्टिकर टाँसगरी कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रालय, अस्पताल र सर्वसाधारणका लागि पहिलो पटकको उत्पादन निःशुल्क वितरण गर्ने जनाउनुभयो । करिब ९०० डिब्बा उत्पादन गरिएको सेनिटाइजर बिक्रीवितरण गर्नेगरी दोस्रो चरणमा उत्पादन गरिने उहाँको भनाइ थियो ।

विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाईले अब प्राध्यापक र विद्यार्थीले अध्ययन, अध्यापन र अनुसन्धानको नियमित कार्यसँग यस्ता उत्पादनमुखी परियोजना कार्य अघि बढाउने बताउनुभयो । युवा वैज्ञानिक राजेन्द्र विष्टले विश्वविद्यालयको संयोजनमा भएको यो सेनिटाइजर अन्य उत्पादनभन्दा सस्तो, गुणस्तरीय र स्वस्थकर रहेको जिकिर गर्नुभयो । उहाँले विश्वविद्यालयसँग जोडिएर आगामी उत्पादन कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उक्त उद्घाटन कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य पद्मराज जोशी, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजविक्रम बस्नेत, शिक्षाशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख जसवीर रोका, मुसुमका निर्देशक डा सुशील शाहीलगायत प्राध्यापक एवं विद्यार्थीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया