सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो

  बैशाख ११, २०७७

धनगढी, वैशाख ११ : कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालमाबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो । आज डिस्चार्ज हुनेमा पाना विक हुनुहुन्छ ।

वीरगञ्जबाट कैलाली आउनुभएकी उहाँलाई कोरोना भाइरसको पुष्टि भएपछि यही वैशाख १ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यसअघि सो अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका ईन्द्र विक, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय अमृत शाही र कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक कोरोना निको भई डिस्चार्ज हुनुभएको थियो ।

अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीया एक महिलाको उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्जार्च हुनेलाई एक हप्तासम्म घरमा ‘होम क्वारेन्टाइन’ मा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन् ।

सूचना अधिकारी श्रेष्ठले डिस्चार्ज हुनेलाई एक हप्तासम्म आफ्नो परिवारसँग हेलमेल नगरी कुनै कुरा गर्नुपरेमा कम्तिमा पनि दुई मिटरको दूरी कायम राख्न र स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा जानकारी दिन सल्लाह दिने गरिएको बताउनुभयो । उहाँहरुलाई घर फिर्ता पठाउँदा मास्क, ग्लोब र सेनिटाइजर उपलब्ध गराउने गरिएको छ ।

यसबीच आजै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला र उहाँको ५८ वर्षिया छोरा पनि आजै निको भई पाटन अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो । यौ सँगै नेपालमा कोरोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।

तपाईको प्रतिक्रिया