राजनीतिक अस्थिरता निम्त्याउने अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक

  बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो ।

छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । त्यस्तै हिजोदेखि सुरु भएको दुई अध्यक्षको सांसदहरुसँगको छलफल पनि स्थगित गरिएको छ । दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छ । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन् । बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्। संभवत: आजै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपाका एक नेताले बताए ।

संविधानको धारा ११४ को उपधारा २ ‘ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधनगर्ने अध्यादेश जारी गरेकी थिइन् ।

सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो । तर यसको पार्टीभित्र र बाहिर चौतर्फी विरोध भइरहेको छ ।

स्वयंम नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका छन् । बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

यसैबीच बुधबारबाट शुरु भएको नेकपा सांसदहरुसँग ओली र प्रचण्डको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित भएको हो । बुधवार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल भएको थियो । छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरुलाई बताएका थिए ।

तपाईको प्रतिक्रिया