काठमाडौं, वैशाख ११ : समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी नेपालले निर्वाचन आयोगलाई आफूहरु एकीकरण हुन लागेको औपचारिक जानकारी गराएका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुई पार्टीबीच एकीकरण हुने सहमति भएको जानकारी आयोगलाई प्राप्त भएको र अब दलहरुले नयाँ दलका लागि आवश्यक पर्ने कागजात पेश गरेपछि आयोगले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
उहाँले दल दर्तासम्बन्धी कानुनमा दलको घोषणापत्र, विधान निर्वाचन चिन्ह, केन्द्रीय कमिटिको निर्णय लगायतका कागजात ४५ दिन भित्र आयोगमा पेश गर्नु पर्ने र ती कागजात रीतपूर्वक भए नभएको कर्मचारीले जाँच गरी आयोगका आयुक्तहरु समक्ष पेश गरिने छ ।
त्यसपछि आयाेगकाे बैठकले दर्ता गर्ने नगर्ने निर्णय गर्नु हुने र त्यो निर्णय राजपत्रमा प्रकाशित भए पछि मात्र नयाँ दलले मान्यता पाउने बताउनुभयो ।