भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउँदै नेपाली सेना

  बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेपाली सेनाले सरकार–सरकार (जीटुजी) प्रक्रिया अनुसार भारतबाट एक करोड ५० लाख भारतीय रुपैयाँ अर्थात् (दुई करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको औषधि खरिद गर्न लागेको छ ।

सेनाले भारतबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणको बेलाका आवश्यक पर्ने ५३ थरीका औषधि ल्याउन लागेको हो । सेनाले ल्याउन लागेका यी औषधिहरु भारत सरकारले उपलब्ध गराएकैबाट ल्याउन लागिएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उक्त औषधि खरिदको लागि सेनाले रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न लागेको छ ।

सेनाले भारतलाई त्यहाँ रहेको औषधिहरु र स्वास्थ्य सामग्रीको सम्बन्धमा पत्राचार गरेको थियो । जसको उत्तरमा भारतले आफूसँग ५३ थरीका औषधिमात्र उपलब्ध भएको र त्योमात्र दिन सक्ने जानकारी दिएको थियो ।

त्यसपछि सेनाले भारतलाई ती औषधिको सूची र मूल्य पठाउनको लागि पत्राचार गरेको थियो । त्यही अनुसार सेनाले औषधिको अन्तिम सूची तयार गरेर बुधबार रकम निकासा गर्न लागेको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया