‘प्रि–मनसुन’ले विद्युत् व्यवस्थापन सहज

  बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : यसपटक चाँडै प्रिमनसुन सक्रिय हुन थालेपछि नेपालले आन्तरिक उत्पादनका भरमा मात्र पनि विद्युत् वितरण प्रणाली व्यवस्थापन गर्नसक्ने भएको छ ।

एकातिर लकडाउन हुँदा मुलुकभर विद्युत्को आपूर्ति घट्दै जानु र अर्काेतिर प्रिमनसुन सुरु भई खोला नदीनालामा पानीको मात्रा बढ्ने स्थिति देखिएपछि नेपालले भारतबाट आयात गर्दै गरेको बिजुलीमा ठूलो मात्रा कटौती गरिसकेको छ ।

हाल कुलेखानी जलविद्युत् आयोजनामा पनि पानीको सञ्चिति पर्याप्त मात्रामा रहेको छ । गर्मी बढ्दै जाँदा हिमालको हिउँ पग्लने क्रम बढ्दै गएकाले हिमनदीमा पानीको मात्रा बढ्न सुरु भइसकेको छ ।
प्रिमनसुन सक्रिय हुँदा र हिउँ पग्लदै जाँदा विशेष गरी कालीगण्डकी, मस्र्याङ्दी, त्रिशूली, भोटेकोसी, चमेलियालगायतका जलविद्युत् गृहको उत्पादन २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।

प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार अहिले भारतबाट ठूलो मात्रामा बिजुली कटौती गरिएको छ । भारतबाट अहिले चौबीसै घण्टा २० मेगावाट मात्र बिजुली आयात गरिएको छ । उहाँका अनुसार सोमबार साँझको पिकआवरमा ८७२ मेगावाट माग रहेको थियो ।

त्यसलाई नेपालका आन्तरिक उत्पादनले व्यवस्थापन गर्न सकिएको छ । लकडाउनले गर्दा नेपालमा कुल मागको ४० प्रतिशत बिजुलीको उपभोग घटेको छ । जुन औद्योगिक क्षेत्रमा खपत हुने गरेको थियो । अहिले कुलेखानीलाई निरन्तर चलाइने गरिएको छ । यद्यपि गत वर्षको तुलनामा कुलेखानीमा यो वर्ष पानीको सञ्चिति अझै पनि धेरै भएको प्राधिकरणको छ ।

प्रमुख भट्टराईले भन्नुभयो, मङ्गलबारसम्म कुलेखानीमा एक हजार ५१२ दशमलव ४६ मिटर पानी छ । यो पानी एक हजार ४९० मिटरसम्म चलाउन सकिन्छ । उहाँले भन्नुभयो, अहिले लकडाउनका बेला भएकाले पनि माग खासै छैन । अब प्रिमनसुन सुरु भइसक्यो । गर्मीले हिउँ पग्लने क्रम बढ्दै छ । अब वैशाख दोस्रो साताबाट त कुलेखानीबाहेकका जलविद्युत् गृहबाट उत्पादन अझै बढ्न थाल्छ ।  

तपाईको प्रतिक्रिया