अध्यादेश कुनै पनि हालतमा ल्याउनै हुँदैनथ्यो : खनाल

  बैशाख ०९, २०७७

सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी छिन् । सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

संकटको घडीमा राजनीतिक अस्थिरता बढाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र विपक्षी दलहरुले तत्काल फिर्ता गर्न माग गरेका छन्। कोरोना भाइरस रोकथाम र नियन्त्रणमा आक्रामक ढंगले अघि बढ्ने बेलामा सरकारले अध्यादेश ल्याउन किन आवश्यक ठान्यो? यसै विषयमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानी :

सरकारले ल्याएको दुई अध्यादेशबारे यहाँको धारणा के हो?
अध्यादेश अहिले जरुरी थिएन, असामायिक भयो। अध्यादेश कुनै पनि हालतमा ल्याउनै हुँदैनथ्यो।

यो बेलामा अध्यादेश किन आएको रैछ?
अध्यादेश किन आयो भन्ने जवाफ छैन। प्रधानमन्त्रीले पनि त्यसको जवाफ दिनुभएन। संबैधनिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनुपर्ने कारण त भन्नुभयो तर राजनीतिक दलसम्बन्धी अध्यादेश यही बेलामा किन आयो भनेर केही भन्नुभएन।

तपाईंलाई चाँहि यो अध्यादेश किन आएको हो जस्तो लाग्छ?
खोइ, अब कतिपय पार्टीहरु फुटाउनका लागि हुन सक्छ।

नेकपा नै फुटाउन पनि हुन सक्छ नि। हैन?
त्यो त उहाँको सोचबाहिरको कुरा हो। उहाँको चाहना मात्रै पनि पार्टी फुट्न सम्भवव नै छैन।

तर संसदीय दलमा ओली पक्षको मात्रै ४० प्रतिशतभन्दा धेरै सांसद ओली पक्षको मात्रै छ, उहाँले चाहनुभयो भने त हुन्छ नि त।
खोइ हामीलाई त त्यस्तो लाग्दैन। पार्टी फुटाउने नै मानसिकता हो भने पनि उहाँको पछि लागेर सांसदहरु जालान् भनेर मैले सोचेको छैन। हाम्रो पार्टीका नेताहरु त्यति अपरिपक्व हुनुहुन्न।

अब के हुन्छ?
हिजो हामीले रोक्न खोजेका थियौं। बैठक बस्दा बस्दै राष्ट्रपतिबाट अनुमोदन भइसकेछ। त्यसपछि थप कुरा गरिएन। पछि संसद्‍मा के हुन्छ हेर्दै जानुस्। यसले त्यस्तो ठूलो ओइरो पहिरो लगाएको पनि छैन। हामीसित अहिले नै दुई तिहाई सरकार नै छ। अरु केही गर्न जरुरी नै छैन।

हिजो बैठकमा नेताहरुको स्ट्यान्ड के थियो?
हामीले विरोध जनायौं। प्रचण्डजी, माधवजी, मैले र नारायणकाजीले असहमति जनायौं। वामदेवजीले समर्थन जनाउनुभयो, यो उपयुक्त प्रस्ताव हो भन्नुभयो।

तर, लकडाउनको असरले जनता भोकभोकै हिँडिरहेका बेला तपाईंहरु राजनीतिक खिचातानीमा लाग्नुभयो है?
त्यो तपाईंहरुले भन्ने कुरा भयो।

तपाईंहरुलाई पनि त्यसो लाग्नुपर्ने हो नि हैन र?
हो लाग्नुपर्छ। यो कुबेलाको सनाई हो। यसको अर्थहरु प्रस्ट भएका छैनन, अर्थहरु आउलान्।

तपाईको प्रतिक्रिया