अध्यादेशले राजनीतिक अस्थिरता र बाह्य चलखेल : रावल

  बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारले ल्याएका अध्यादेशले राजनीतिक अस्थिरता ल्याउने भन्दै खारेज गर्न माग गरेका छन् । मन्त्रिपरिषद्बाट पास भएर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेता रावलको प्रतिक्रिया आएको हो । 

नेता रावलले विधेयकलाई अनिष्टकारीको संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषद्‌मा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो।’

राजनीतिक स्थिरता भएको र बाह्य चलखेल बन्द गर्ने राजनीतिक दलसम्बन्धी कानुनलाई सरकारले चलाउनु दुखद् रहेको रावलको भनाइ छ। ‘देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनीतिक दलहरूका बीच निकै लामो छलफल र परामर्श पछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानुन ल्याइएको थियो,’ उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।

‘तत्कालीन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषद्मा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो। यसकाविरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्नपन्न भएको छ। यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ,’ उनको ट्विटमाा उल्लेख छ ।

तपाईको प्रतिक्रिया