पश्चिमाञ्चल अस्पतालमा स्वचालित सेनिटाइजर टनेल

  बैशाख ०८, २०७७

चिप्लेढुङ्गा, वैशाख ८ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इञ्जिनीयर्स एशोसिएशन गण्डकीले उक्त टनेल निर्माण गरेको हो ।

उक्त टनेलले पाँच सेकेण्डमा पूरा शरीर निःसङ्क्रमण गरिसक्ने छ । स्वचालित सेनिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार खर्च भएको छ । इञ्जिनीयरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एशोसिएशनका सचिव सुरेश तिमिल्सेनाले बताउनुभयो ।

टनेलको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आज शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई हस्तान्तरण गर्दै इञ्जिनीयरहरुले कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिएर जोखिम न्यूनीकरणको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठाका उपकुलपति डा थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु-याउने बताउनुभयो । एशोसिएशन गण्डकीका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले टनेलले पूरा शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरस मार्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया