११० रुसी नागरिक मस्को फर्किए

  बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।

रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन आज बिहान काठमाडौँ आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ ।

यसैबीच नेपालमा रोकिएका आफ्ना नागरिक लैजान अमेरिकाले मङ्गलबार काठमाडौँमा जहाज पठाउने भएको छ । अमेरिकी जहाज भोलि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अमेरिकन नागरिकलाई लिएर फर्किने विमानस्थलले जनाएको छ ।

यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो । यो पटक भने अमेरिकाले आफ्नै जहाज पठाउन लागेको जनाइएको छ । तर कुन कम्पनीको जहाज आउने भने विमानस्थलले खुलाएको छैन ।

यसैबिच श्री एयरलायन्सको सीआरजे–७०० बमबार्डियर विमान सिंगापुर जाने भएको छ। उक्त विमानले काठमाडौंबाट बिरामी लैजाने र उताबाट औषधि ल्याएर फर्किने अनुमति प्राप्त गरेका एक अधिकारीले बताए ।

‘७२ घन्टाभित्र चार्टर उडान गरिसक्नुपर्ने अनुमती दिइएको छ,’ सम्वद्ध एक अधिकारी एक अधिकारीले बताए, ‘तर, सिंगापुर जाने हवाइ रुटमा पर्ने अन्य मुलुकहरुको आकाशको अनुमतिको म्याद गुज्रेकाले मंगलबारसम्म उड्ला ।’

तपाईको प्रतिक्रिया