आरडीटी नेगेटिभ देखिएपछि किरियापुत्रीलाई घर पठाइयो

  बैशाख ०७, २०७७

काठमाडौँ, वैशाख ७ : लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट क्वारेन्टाइनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् । उनी आइतबार दिउसोमात्रै नेपाल आएका हुन् ।

सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो । आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए । तर, भारतीय पक्षले प्रक्रिया पुर्याउनुपर्ने भन्दै समय लगाएपछि उनी भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै किरिया बसेका थिए ।

नेपाल ल्याएपछि उनको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माविमा र्‍यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गरिएको थियो। यसको नतिजा नेगेटिभ आएपछि एम्बुलेन्समा उनलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया