अस्पतालको काममा बाधा नपुग्‍ने गरी डा. पुनलाई बोलाइएको हो : स्वास्थ्य मन्त्रालय

  बैशाख ०७, २०७७

काठमाडौँ, वैशाख ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालय बोलाइएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा आइतबार मन्त्रालयका सहसचिव रुघुराम विष्टले डाक्टर पुनलाई कोभिड-१९ नियन्त्रण अभियानको योजनामा सहयोग पुर्‍याउन बोलाइएको दाबी गरे ।

उनले भने, ‘डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयले सञ्चालन गरेको कोभिड-१९ नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन पत्राचार गरिएको हो । सत्यतथ्य नबुझी मिडियाले सामाचार प्रकाशन गरेकोमा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको छ।’

साथै सहसचिव विष्टले मिडिया तथा सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्रीको चरित्र हत्या गर्ने काम भएको आरोप लगाउँदै कोभिड-१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराएको पनि बताए। मन्त्रालयले वैशाख ५ गते अस्पताललाई पत्र लेखेर डाक्टर पुनलाई पठाइदिन आग्रह गरेको पनि सहसचिव विष्टले जानकारी दिए। त्यस्तै डाक्टर पुन मन्त्रालयमा उपस्थित भइसकेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया