सर्लाहीका १४ वर्षीय बालकमा पीसीआर रिपोर्ट नेगेटिभ

  बैशाख ०७, २०७७

सर्लाही, वैशाख ७ : सर्लाहीको धनकौलका १४ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ अर्थात कोरोना नरहेको पाइएको हो ।

गत चैत २३ गते भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका बालकको सुक्रवार ¥यापिड डाइग्नोष्टिक टेष्टमा एन्डिबडी पोजिटिभ देखिएको थियो । बालकसँगै क्वारेन्टाइनमा बसेका अर्का एक पुरुषको भने आरडीटी टेष्ट नेगेटिभ आएको थियो । लगत्तै दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा लगेर भर्ना गरिएको थियो ।

उहाँहरु दुवैको स्वाब काठमाण्डौं लगेर पीसीआर विधीबाट परीक्षण गर्दा आइतवार नेगेटिभ रिपोर्ट आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनबहादुर जिसीले जानकारी दिनुभयो । १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि त्रसित भएका धनकौलका स्थानीय वासिन्दासँगै सर्लाहीवासी पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि खुशी भएका छन् ।

यसैबीच सर्लाहीका विभिन्न पालिकाको क्वारेन्टाइनमा १४ दिन बसेका र आरडीटी नेगेटिभ आएकाहरुलाई एक हप्ता होमक्वारेन्टाइनमा बसिदिन आग्रह गर्दै आइतवारबाट घर पठाउन थालिएको छ । आइतवार पहिलो दिन चक्रघट्टा, रामनगर र कौडेना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ८ जनालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया