भारतीय क्‍वारेन्टाइनमा किरिया बसेको ६ दिनपछि नेपाल आए वासुदेव

  बैशाख ०७, २०७७

दार्चुला, वैशाख ७ : लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट किरिया बसेको छैटौं दिन आइतबार दिउँसो नेपाल आएका छन् । भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै उनी किरिया बसेका थिए ।

सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो। आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए। तर, भारतीय पक्षले प्रक्रिया पुर्‍याउनु पर्ने भन्दै समय लगाएको थियो।

‘हामीले उनलाई ल्याउन ताकेता गरिरहेका थियौं। भारततिरको प्रक्रिया लामो भएकाले समय लाग्यो,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कान्तिपुरलाई भने।अहिले भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। ‘स्वास्थ्य परीक्षणपछि उनलाई सुरक्षाका साथ घर पुर्‍याउँछौं,’ पौडेलले भने।

उनी क्वारेन्टाइनमै क्रिया बसेकाे समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई ल्याउने व्यवस्था मिलाउन दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो। तर, भारतीय पक्षले प्रदेश राजधानी देहरादुन हुँदै दिल्लीबाटै अनुमति चाहिने भन्दै रोकेर राखेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया