इन्टरनेट सेवा प्रदायकले भने- शुल्क नतिरे पनि अशक्त र वृद्ध ग्राहकको लाइन काट्दैनौं

  बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई मात्रै लकडाउन अवधिमा शुल्न नतिरे पनि निरन्तर इन्टरनेट सेवा दिने भएका छन् । सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभरि शुल्क तिर्न नसकेकका ग्राहकको लाइन नकाट्न निर्देशन दिएको थियो ।

तर, इन्टरनेट सेवा प्रदायक संघ नेपालले आइतबार एक सूचना जारी गर्दै अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई मात्रै त्यस्तो सुविधा दिन सकिने जानकारी दिएको छ । सरकारको निर्देशनको पूर्ण पालना गर्न समस्या भएको भन्दै संघले सेवा सुचारु राख्ने वातावरण बनाउन शुल्क उठाउनैपर्ने अवस्था रहेको प्रष्ट्याएको छ ।

संघका अध्यक्ष भोजराज भट्टले आफूहले इन्टरनेटको ब्यान्डविथ खरिद गरेर ल्याउने भारतीय कम्पनीलाई पनि नियमित शुल्क तिर्नुपरिरहेकाले शुल्क नउठाई सेवा सुचारु राख्न नसकिने बताए । उनले लकडाउनका कारण साँच्चिकै समस्यामा पर्ने ग्राहकहरुको लाइन नकाट्ने गरी निर्णय भएको भन्दै अन्य ग्राहकले अनलाइनसहित विभिन्न विद्युतीय माध्यमबाट शुल्क तिर्ने व्यवस्था गर्न आग्रह गरे ।

‘हामीले अहिले कामदारलाई दोब्बर तेब्बर पारिश्रमिक दिएर काममा खटाउनुपरेको छ, इन्टरनेटको माग पनि त्यसैगरी बढेको छ,’ अध्यक्ष भट्टलाई उद्धृत गर्दै अनलाइन खबरमा उल्लेख छ, ‘यस्तो बेलामा ग्राहकसँग शुल्क उठाउन सकेनौं भने व्यवसाय नै चल्दैन, अन्ततः त्यसले फेरि अर्को समस्या जन्माउँछ ।’

तपाईको प्रतिक्रिया