राष्ट्रपतिद्वारा साढे ९ करोड रुपैयाँ फिर्ता

  बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण गरी उनले रकम फिर्ता गरेकी हुन् ।

राष्ट्रपति कार्यालय भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक) मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारीमा थियो । राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् । अरू गाडी पुराना भएकाले भण्डारीले दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आएकी छन् । उक्त कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर गुड्छ । राष्ट्रिपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमि गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको थियो ।

भण्डारीका लागि नयाँ कार आएपछि पुरानो इलेक्ट्रिक गाडी राष्ट्रपति कार्यालयका अरू एक पदाधिकारीलाई दिने निर्णय भइसकेको थियो । राष्ट्रिपति कार्यालयका सचिव र सहसचिवलगायतका लागि अरू ५ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको थियो । ती गाडी पनि एकपटक चार्ज गरिसकेपछि ४ सय ५० किमि गुड्ने क्षमताका हुन् । राष्ट्रपति कार्यालयका सचिव र सहसचिवका गाडीसमेत पुराना भएकाले मर्मतसम्भार खर्च धेरै पर्न थालेकाले नयाँ खरिद गर्न लागिएको दाबी स्रोतको छ ।

राष्ट्रिपति कार्यालयले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरी करिब ५ करोड रुपैयाँमा ६ वटा कार र चार्जिङ स्टेसनका लागि उपकरण किन्न लागेको थियो । यहीबीचमा मुलुकमा कोभिड–१९ को संक्रमण देखिन थालेको र लकडाउनका कारण सिंगो मुलुक आर्थिक संकटमा परेको हुनाले राष्ट्रपति कार्यालय नयाँ गाडी खरिदको प्रक्रिया स्थगन गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालयका लागि डेढ करोड रुपैयाँमा जेनेरेटर र इन्भर्टर तथा सल्लाहकार, विज्ञ, कार्यालयका सचिव, सहसचिवका लागि कम्प्युटर र ल्यापटप खरिद प्रक्रिया अघि बढाइएको थियो ।

राष्ट्रपति कार्यालयमा एउटा विशेष मिटिङ हल निर्माण गर्न लागिएको थियो । कार्यालयमा विदेशी मुलुकका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि छुट्टै भेट्ने मिटिङ हलसमेत छैन । करिब साढे चार करोड रुपैयाँमा मिटिङ हल बनाउने र राष्ट्रपति कार्यालय भवनको मर्मतसम्भार गर्ने तयारी भइरहेको थियो ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले नयाँ गाडी, ल्यापटप, कम्प्युटर तथा मेसिनरी औजार खरिद तथा मिटिङ हल निर्माण र भवनको मर्मतसम्भार कार्य स्थगित गरी बजेट फिर्ता गरिएको जानकारी दिए । ‘अत्यन्त जरुरी हुँदाहुँदै पनि राष्ट्रपति कार्यालयले गाडी, ल्यापटप, कम्प्युटर खरिद तथा भवन मर्मतसम्भार तथा मिटिङ हल निर्माणलगायतका काम रोकेर साढे ९ करोड रुपैयाँ फिर्ता गरेको हो,’ पौडेलले भने ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई ठूलो रकम आवश्यक परिरहेका बेला राष्ट्रपति कार्यालयले अत्यावश्यक बाहेक अरू बजेट फिर्ता गर्दा राम्रो सन्देश जाने भएकाले सबै खरिद प्रक्रिया स्थगित गरिएको उनले बताए ।

अर्थमन्त्रालयको प्रस्तावमा सरकारले गाडीलगायतका सामान खरिद, मर्मतसम्भार, गोष्ठी सेमिनारको बजेट फिर्ता गर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ । तर, मुलुकको सबभन्दा सम्मानित संस्था भएकाले राष्ट्रपति कार्यालयलाई सरकारले बजेट फिर्ता गर्नुपर्ने दायरामा राखेको कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया