१० वर्षपछि नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउँदै

  बैशाख ०६, २०७७

अमेरिका, वैशाख ६ : अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अर्को महिना करिब दश वर्षपछि पहिलोपटक अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ ।

रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मेका दिन उडाउने योजना छ । बीबीसीका अनुसार दुईजना अन्तरिक्षयात्री पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (इन्टरन्याशनल स्पेश स्टेशन आइएसएस)तर्फ जानेछन् ।

रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ‘स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ । नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ ।

यदि सफल भएमा अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पुर्‍याउने पहिलो निजी कम्पनी हुनेछ ।

‘द फाल्कन नाइन रकेट’ र ‘क्रु ड्र्यागन’ अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको अपोलो र शटल मिसनहरूका लागि प्रयोग भएको ऐतिहासिक प्याड ३९ए बाट उडान सुरु गर्नेछन् । अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया