८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी

  बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ : इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो । 

ट्याङकर शुक्रबार बसुन्धारामा रहेको प्रहरीको महालक्ष्मी आयल स्टोरमापुर्‍याइएको थियो । ‘प्रहरीले उक्त पेट्रोल शनिबार बिहान परीक्षण गर्दा पानी मिसावट गरेको देखियो,’ थानकोट डिपो प्रमुख प्रदिप यादवले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ। पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर पेट्रोलमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो।’

उक्त नम्बरको ट्याङकर वीरगन्जका ट्रान्सपोर्टर कुलबन्त सिंहको हो। पेट्रोलमा पानी मिसावट गरेको पाइएपछि प्रहरीले चालकलाई प्रक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ । ‘पेट्रोलमा पानी मिसिदैन। चालकले तेल बिक्री गरेर पानी मिसाएको देखियो,’ डिपो प्रमुख यादवलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनमा उल्लेख छ, ‘चालकलाई कारबाही गर्न प्रहरीले पत्रचार गरिसकेको छ ।’

तपाईको प्रतिक्रिया