करोडौको फूल फाल्दै पुष्प व्यवसायी

  बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : फूल फालेर मल बनाउनुभन्दा बाटोमा हिड्ने बटुवा र अस्पतालका बिरामीलाई पुष्प व्यवसायीहरुले बाड्न थाल्नु भएको छ । अस्पतालमा रहेका बिरामीलाई फूल दिएर उनीहरुमा हौसला बढाउने प्रयासमा नेपालका पुष्प व्यवसायीहरु लाग्नु भएको हो ।

समय फूल फूल्ने मुख्य सिजन हो । फूल फाल्नुभन्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, बिरामी तथा कुरुवाहरुलाई फूल दिन सुरु गरेपनि यसमा समेत कोरोनाको जोखिम बढ्ने चिकित्सकले बताएपछि उहाँहरुले अहिले फूलेको फूल टिपेर गाड्न थाल्नु भएको हो । एक सातासम्म व्यवसायीहरुले पायक पर्ने अस्पताल, हिडेरै गाउँसम्म पुग्ने बटुवाहरुलाई निशुल्क फूल दिने गर्नुभएको थियो । तर कोरोनाको जोखिम उच्च भएको चिकित्सकले सुझाब दिएपछि उहाँहरुले फूल टिपेर गाड्न थाल्नु भएको हो ।

नेपालमा पुष्प व्यवसायमा छ सयभन्दा धेरै व्यवसायीले लगानी गर्नु भएको छ । नेपालमा अहिले फूल फूल्ने मुख्य सिजन हो । पुष्प व्यवसायमा नेपालमा मात्रै १४ हजारले रोजगारी पाउनु भएको छ भने दैनिक दुई करोड रुपियाँको फूल नेपालमा उत्पादन हुने फ्लोरीकल्चर एशोसिएन नेपालका अध्यक्ष कुमार कसजुले बताउनुभयो । नेपालमा पुष्प व्यवसायमा पाँच अर्बभन्दा धेरैको लगानी छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि देश लक डाउन भएको अवस्था छ । देश लक डाउन भएसँगै यसको प्रभाव विभिन्न ठाउँमा देखिएको छ । लक डाउनले गर्दा पुष्प व्यवसाय संकटमा परेपनि फूललाई पुरेर मल बनाउनुभन्दा घरघरमा लगेर सजाउने होस भन्ने उदेश्यले नेपालका प्रमुख शहरका व्यवसायीले सकृयता देखाएका छन् । यस वर्ष पुष्प व्यवसायबाट करोडौको घाटा हुने एशोसिएसनका काभ्रेपलाञ्चोकका उपाध्यक्ष भेषराज दनुवारको अनुमान छ ।

नेपालमा छ सयभन्दा धेरै व्यवसायीहरु पुष्प व्यवसायीहरु छन् । लक डाउनका कारण जिल्लाका सबै पुष्प व्यवसायीहरुको नाजुक बनेको केन्द्रीय अध्यक्ष कसजुले भन्नुभयो ।
उहाँका अनुसार लक डाउनले गर्दा सबैभन्दा धेरै पुष्प व्यवसायी नै पीडित भएका छन् । ‘लक डाउन भएपछि नेपालका कुनै पनि फार्मबाट एक स्टिक फूल पनि बिक्री भएको छैन,’ अध्यक्ष कसजुले भन्नुभयो । सामान्य अवस्थामा नेपालभरमा दैनिक दुई करोड रुपियाँको फूलको बिक्री हुने गरेको थियो ।

संकटमा परेको यो समयमा संयम बनेर अघि बढ्ने अध्यक्ष कसजुले बताउनुभयो । उहाँले भन्नुभयो सरकारले अहिले व्यवसायीलाई सहयोग गर्न सक्ने अवस्था छैन । सरकारले बैंक लोनलाई सफ्ट र व्याजमा कमी गर्न पहल गरेमा हामी केही महिनामै पुरानो अवस्थामा आउने बताउनुहुन्छ । तर सरकारले यतीबेला कोरोना रोकथामका लागिनै सबै शक्ति खर्चिनु परेकाले अनुदानको आशा व्यवसायीहरुले नगरेको बताउनुहुन्छ । तर कोरोना रोकिएर सामान्य अवस्थामा आएपछि आफूहरुले सरकारसँग कुरा गर्ने बताउनुभयो ।

यो समयमा चिन्तित नभई सामान्य अवस्थामा जस्तै फूलहरु जोगाउन र त्यसको राम्रो हेरचाह गर्न पुष्प व्यवसायीहरुलाई सुझाउँदै उहाँले भन्नुभयो, ‘यहाँ मात्र यस्तो समस्या भएको होइन, विश्वभर नै यस्तै छ । लक डाउन पछि पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने मानसिकताले सबैले फूलको राम्रोसँग हेरचाह गरौँ ।’

लकडाउनको समयमा फूल नबिकेपनि त्यसको अन्त्यसँगै पुरानो अवस्थामा फर्कने भएकाले नेपालका सबै पुष्प व्यवसायीहरुले अहिले पनि पुरानै अवस्थामा फूलको स्याहार सुसार गरिरहेका छन् । ‘हाम्रो मात्रै नभएर विश्वकै समस्या भएकाले यो समयमा फूल टिपेर गोलमेड गरेर कोरोनाको अन्त्य होस भनेर प्रार्थना गरिरहेका छौ’ व्यवसायी शुसिल खड्काले भन्नुभयो । उहाँ नेपालमै पुष्प व्यवसायमा ठूलो लगानी गर्ने व्यवसायी हुनुुहुन्छ ।

तपाईको प्रतिक्रिया