उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि

  बैशाख ०५, २०७७

मोरङ, वैशाख ५ : उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण देखिएको पुष्टि गरेको हो। कोशी अञ्चल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो।

प्रदेश १ का एक मन्त्रीले भुल्केको मस्जिदमा भेटिएका १२ जना भारतीयकै पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र उनीहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको जानकारी दिए। संक्रमितहरुलाई कोरोना विशेष अस्पतालमा ल्याउन प्रदेश सरकारले तयारी गरिसकेको छ।

उक्त अस्पतालमा चिकित्सक टोली तथा सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको र कोरोना पोजिटिभ देखिएकाहरुलाई ल्याउने सम्पूर्ण तयारी भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रयोगशालाबाट अन्तिम रिपोर्ट पर्खिरहेको बताएका छन्। ‘उनीहरुको संक्रमण भए नभएको पुरै पुष्टि भइसकेको छैन’ मन्त्री कार्कीले भने, ‘संक्रमण पुष्टि भए विराटनगर ल्याएर आइसोलेसनमा राखी उपचार गर्ने तयारी भइरहेको छ।’

यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो। उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए।

स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया