विदेशबाट फर्किनेको कोरोना परीक्षण जारी

  बैशाख ०५, २०७७

काठमाडौँ, वैशाख ५ : काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ । हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र ती मध्ये सबैको नतिजा नेगेटिभ आएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाले सबै वडामा कोभिड–१९ को परीक्षण जारी राखेको छ ।

अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्याङ्क लिइसकको कामपाले गत बुधबारदेखि कोरोनाको परीक्षण पनि शुरु गरेको हो । सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि कामपाले परीक्षण शुरु गरेको हो ।

कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण सङ्कलन गरिएको थियो । कामपाका प्रमुख विद्या सुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्वन्धित वडामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । “यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ । छिमेकलाई पनि ढुक्क हुन्छ । ”उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया