भेन्टिलेटर खरिदमा अनियमितता आरोप

  बैशाख ०५, २०७७

कञ्चनपुर, वैशाख ५ : कञ्चनपुरको महाकाली अस्पतालले खरिद गरेका भेन्टिलेटरलगायतका स्वास्थ्‍य उपकरणहरू पुराना रहेको पाइएको छ । कोरोना संक्रमितको उपचारका लागि खरिद गरिएका सामग्रीहरू पुराना र खिया लागेका आएपछि अनियमितता भएको भन्दै अस्पताल प्रशासनको चौतर्फी विरोध भएको छ।

अस्पताल प्रशासनले भेन्टिलेटर, पेसेन्ट मोनिटर, ब्लड ग्यास एनालाइजर र डिफिलेटरसहितका सामग्री खरिदका लागि चैत दोस्रो साता आरजी सप्लायर्सलाई ५३ लाखमा सम्झौताबिनै ठेक्का दिएको थियो, जसमा भेन्टिलेटर मात्रै २६ लाखभन्दा बढी मूल्यको छ। सप्लायर्सले चैत अन्तिम साता उक्त सामग्री अस्पतालमा पुर्‍याएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। हरि श्रेष्ठले अन्य सामग्री ठीक भए पनि भेन्टिलेटर पुरानो र खिया लागेको बताए। त्यही भएर सप्लायर्स सम्झौताका लागि नआएको उनको भनाइ छ। ‘सप्लायर्स अहिले पनि सम्झौताका लागि आउन मानिरहेको छैन,’ श्रेष्ठले भने, ‘हामीले पटकपटक पत्राचार गर्दा पनि सम्पर्कमा आएको छैन।’ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि अस्पतालको भौतिक विकासमा १ करोड बजेट छुट्याएको थियो। त्यही बजेटबाट अस्पताल प्रशासनले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री खरिद गरेको हो।

अस्पताल विकास समितिले सामग्री खरिदबारे कुनै जानकारी नभएको भन्दै छानबिनको माग गरेको छ। बुधबार समितिका अध्यक्ष कृष्ण जोशीसहितका पदाधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गरी छानबिन माग गरेका हुन्। विज्ञप्तिमा अस्पताल प्रशासनले सामग्री खरिदका विषयमा कुनै जानकारीसमेत नदिएको उल्लेख गरिएको छ।

समितिकै आग्रहमा सामाजिक विकास मन्त्रालयले बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतलाई सामग्री जाँचका लागि पठाएको छ। बुधबार चटौतले सबै सामग्रीको जाँच गरेका हुन्। उनले बिहीबार अस्पताल प्रशासनलाई जाँचको प्रतिवेदनसमेत बुझाइसकेका छन्। प्रतिवेदनमा फिलिप्स कम्पनीको उक्त भेन्टिलेटर सन् २०१५ को अन्तिमतिर बनेको, अक्सिजन पाइप र ट्रलीमा खिया लागेको लगायतका बुँदा उल्लेख गरिएका छन्।

अस्पतालका मेसु डा। श्रेष्ठले सामग्री खरिदबारे समितिलाई मौखिक जानकारी भएको र लिखित जानकारी गराउनुपर्ने आवश्यक नरहेको बताए। उनले बायोमेडिकल इन्जिनियरको प्रतिवेदन शुक्रबार समितिको बैठकमा पेस हुने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताए।

महाकाली अस्पतालमा ४ बेडको आईसीयू सञ्चालनका लागि ४ वर्षअघि नै उपकरण जडान भइसकेका छन्। तर विशेषज्ञ डाक्टर र अन्य जनशक्तिको अभावमा उक्त आईसीयू सञ्चालन हुन सकेको छैन। मन्त्रालयले आईसीयू सञ्चालनकै लागि उक्त वजेट पठाएको हो। सरकारले महाकाली अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विकास गर्ने निर्णय गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया