कतारमा सम्झौता रद्द गरिएका कामदारलाई पनि रोजगारदाताले नै खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने

  बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : कतार सरकारले सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताले खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने बताएको छ ।

कतारस्थित नेपाली राजदूतावासले हिजो प्रेस विज्ञप्ति जारी गर्दै रोजगारदाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रक्रिया पूरा नहुउन्जेलसम्म खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने कतार सरकारले जानकारी गराएको हो ।

काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमित रूपमा करारअनुसार आधारभूत तलब सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने समेत कतार सरकारले बताएको छ । क्वारेन्टिनमा परेका वा संक्रमित भई उपचाररत रहेका कामदारले बिरामी बिदा उपलब्ध भए नभए पनि आधारभूत तलब सुविधा पाउने बताइएको छ ।

कुनै कम्पनीले मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको पाइएमा कतारको कानुनअनुसार कानुनी कारवाही अगाडि बढाइने समेत कतार सरकारले स्पष्ट पारेको छ । हालको अवस्थामा सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्नका लागि कामदार र रोजगारताताबीचको सहकार्य आवश्यक रहेको कतारकोे भनाई छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हिजो प्रकाशित गरेको सूचना अनुसार कतारमा ५६ हजार ३८१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । साथै पछिल्लो २४ घण्टाभित्र एक हजार ८९७ जनाको परिक्षण गरिएको दूतावासले जानकारी दिएको छ । पहिचान भएका संक्रमितको संख्या चार हजार १०३ रहेकोमा पछिल्लो २४ घण्टाभित्र ३९२ जनामा थप संक्रमण देखिएको दूतावासले जानकारी दिएको छ ।

स्वास्थ्योपचार गराईरहेको संख्या ३ हजार ६८१ रहेकोमा पूर्ण रुपमा स्वास्थलाभ गर्नेकोे संख्या ४१५ रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ७ जना रहेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया