कतारबाट फर्केका युवक एक महिनापछि क्वारेन्टाइनमा

  बैशाख ०५, २०७७

रौतहट, वैशाख ५ : गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्‍याएको छ । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयले सबैको खोजीका लागि देशभरिकै प्रहरी युनिटलाई पत्राचार गरेको थियो ।

‘उनी चढेको फ्लाइटका केहीमा संक्रमण देखिएकोले कन्ट्याक ट्रेसिङ गर्दै घरबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौँ,’ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर शाहीलाई उद्धृत गर्द अनलाइन खबरमा उल्लेख छ, ‘आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज पुनः स्वाब टेस्ट गराउदैछौँ।’

सरकारले विदेशबाट आएकाहरुलाई कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्न आह्वान गरे पनि जनप्रतिनिधिहरुले समेत घटना लुकाएको डीएसपी शाहीले बताए । कतारबाट फर्केका युवकलाई उनका दाजु चन्द्रपुर १ का वडा अध्यक्षले घरमै राखेका थिए । सोही विमानबाट आएका रौतहटको साबिक रंगपुरका अर्का व्यक्तिको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया