नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो रहेन

  बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ३ : नेपाल चलचित्र क्षेत्रको लागि वर्ष २०७६ त्यति राम्रो मान्न सकिन्दैन । गतवर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आएको साथै ७, ८ वटा चलचित्रमात्र दर्शकको रोजाइमा पर्न सफल भयो । चलचित्र लगानी सुरक्षित गर्नुको साथै दर्शको मन जित्न सफल भएको चलचित्र आमा र सेन्टी भाइरसलाई कोरोनाको असरले हलमा तिक्न सकेन ।

अघिल्लो वर्ष ९६ वटा चलचित्र प्रदर्शनमा आएका थियो भने यस पटक त्यो भन्दा धेरै थोरै ५५ फिल्म मात्र प्रदर्शनमा आएको थियो । प्रदर्शन गर्ने भनिएका केही सिक्वेल फिल्म र कमेडी फिल्म कोरोना भाइरसको कारण प्रदर्शनमा आउन सकेनन् । यो वर्षको अन्तिममा प्रदर्शन मिति तय भएका झन्डै आधा दर्जन फिल्महरु कोरोना भाइरसको त्रासका कारण प्रदर्शन भएनन् ।

समग्रमा भन्दा यो बर्ष केही सिक्वेल, केही कमेडी फिल्मले मात्रै लगानी उठाउन सफल भए । ‘दाल भात तरकारी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै जात्रा’, ‘छ माया छपक्कै’, ‘घर’ , ‘आमा’ र सेन्टी भाइरसले यस वर्षका लगानी उठाउन सफल चलचित्र हुन् ।

व्यवसायिक रुपमा सफल भएको फिल्म ‘दाल भात तरकारी’ आफैँमा राम्रो फिल्म भएको कारण भन्दा पनि नाम चलेका कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नामले चलेको देखिन्छ । समिक्षकले समिक्षा समेत गर्न लायक नमानेको फिल्म चल्नुको अर्को कारण कलाकारको हुल रहेको छ ।

सफल फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले लगानी उठाउदै केहि हदसम्म समिक्षकको साथ पनि पायो । यही फिल्मले बिपिन कार्की र बर्षा राउतलाई सफल कलाकारको रुपमा उभिन समेत मदत पुग्यो यस बर्ष । बर्षको अन्त्य तिर प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले लगानी उठाउन सफल भएको छ । प्रदर्शन हुदै गर्दा कोरोना महामारी सुरु भएकोले लामो समय फिल्मले अपेक्षित दर्शक प्राप्त गर्न सकेन ।

यसरी समग्रमा हेर्दा यो बर्ष डेब्यु निर्देशक, निर्माताको ओइरो लागे पनि उनीहरुका फिल्मले अपेक्षित ब्यापार भने गर्न सकेनन् । सरकारले कोरोनाको नियन्त्रणको लागि देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै फागुनको अन्तिम र चैत्रमा प्रदर्शन हुने भनिएका झन्डै आधा दर्जन फिल्मको प्रदर्शन स्थगित भयो ।

कोरोनाको कारण सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाँउछु २’, फूलमान बलको ‘नीर फूल’, सन्तोष सेनको ‘प्रेम गीत ३’, निकेश खड्काको ‘चप्पली हाइट ३’, शिवहरि पौडेलको ‘लक्का जवान’ लगायतका फिल्महरुको प्रदर्शन स्थगित भयो । कोरोनाको कहरले गर्दा फिल्मको प्रदर्शनमात्र नभएर छायांकन पनि उतिकै प्रभावित भयो । फिल्म ‘ए मेरो हजुर ४’ र ‘दुई नम्बरी’ लगायतको फिल्महरुको छायांकन स्थगित गरिएको थियो ।

चर्चामा रहेपनि दर्शकको मन जित्न सकेन
पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्र ‘सेल्फी किङ’ लाई दर्शनक रुचाइन भने समिक्षकहरुले राम्रो मानेन । यस्तै विराज भट्ट पनि फिल्म ‘साङ्लो’, अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’, अशोक शर्माको ‘रातो टिका निधार’ले पनि आफ्नो आम्दानी पनि उठाउन सकेन ।

गतवर्षको जस्तै हाँस्य चलचित्रले र सिक्वेलहरुले नै बढी प्राथमिकता पायो । जसमध्ये कतिपय फिल्म त दर्शकहरुले रिलिज भएको पतोसमेत पाएनन् । रातो गलबन्दी, काउसो, रेस, सानो मन, काचुली, सुपर गोर्खे लगायतका थुप्रै फिल्महरुको खासै चर्चा भएन ।

चलचित्रकर्मी विवाह वर्ष
चलचित्र उद्योगले सफलता प्राप्त गर्न नसकेपनि चलचित्रकर्मीहरुको भने नयाँ जीवन सुरुभएको छ । वर्ष २०७६ लाई फिल्मकर्मीको विवाहको वर्षको रुपमा लिन सकिन्छ । यस वर्ष धेरै कलाकार तथा फिल्मकर्मीले विवाह गरेका छन् ।

प्रेममा रहेका धेरै जोडीले यो वर्ष विवाह गरेका हुन् । यस बर्ष १० जोडी फिल्मकर्मीले विवाह गरेका छन् । दीपिका प्रसाईं र दिवाकर भट्टराईले यस वर्षको सुरुवातमा नै आफ्नो प्रेमलाई विवाहको नाम दिनुभयो । कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले निर्माता तथा फिल्महल संचालक प्रज्वल शमसेर जवरासंग विवाह गर्नुभयो ।

संचारकर्मी रवी लामिछिने र फिल्मकर्मी निकिता पौडेलले पनि विवाहबन्धनमा बाधिनुको भयो ।
यस्तै अभिनेत्री कृति भट्टराईले समेत यसै बर्ष लगनगाठो कस्नुभयो । उहाँले इन्जिनियर रोहित पौडेलसंग पारिवारिक जमघटका बीच विवाह गर्नुभएको हो । भाइरल तरकारीवाली कुसुम श्रेष्ठले समेत यहि बर्ष लगन गाठो जुराउनुभयो ।

चलचित्र ‘लम्फु’ मा काम गर्नुभएको उहाँले राजन श्रेष्ठसंग विवाह गर्नुभयो र्। अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष बिक्रम राणासंग, सोल्टिनी नामले परिचित रिश्मा गुरुङले सन्दिप गुरुङले पनि आफ्नो बैवाहिक जीवन सुरु गर्नुभयो । कलाकार विजय बराल र प्रमिला खनाल, आयुष्मान देशराज जोशी र प्रियंका कार्की, आंचल शर्मा र उदिप श्रेष्ठको विवाह भयो ।

तपाईको प्रतिक्रिया