‘साइप्रस र ढाकाबाट नेपाली विद्यार्थी घर फिर्न आतुर’

  बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : पूर्वी भूमध्यसागरमा पर्ने टापु देश साइप्रसमा ५ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको साइप्रस मामला हेर्ने इजराइलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । साइप्रसमा विद्यार्थीबाहेक झण्डै २ हजार नेपाली घरेलु कामदार कार्यरत छन् ।

‘साइप्रसमा नेपाली विद्यार्थीले बेहोर्न थालेको समस्याबारे हामी जानकार छौं, नियमित सम्पर्कसहित सकेको सहयोग गर्नमा लागिरहेका छौं,’तेलअविवस्थित राजदूत अन्जान शाक्यले कान्तिपुरसँग भनिन्- ‘साइप्रसको राजधानी निकोज्या र आसपासमा रहेकामध्ये कतिपयले कोरोना संन्त्रासका कारण घर फर्कन चाहेका छन्, घर फर्कन चाहनेहरुको अनलाइन रजिष्ट्रेसन पनि भइरहेको छ । तर, नेपाल सरकारको निर्णय र अनुमतीबेगेर अहिले घर फर्काउन सकिने स्थिति छैन ।’

साइप्रसस्थित गैर आवासीय एक नेपाली प्रतिनिधिका अनुसार, विद्यार्थीको पढाइ शुल्क बुझाउनुपर्ने ताकेता र पार्ट–टाइम काम समेत खोसिएको अवस्थामा २ हजारभन्दा बढी विद्यार्थीले तत्काल घर फर्कन चाहेका छन् । केही विद्यार्थीले खानाखर्च समेत जुटाउन नसकेको अवस्थामा तेलअविवस्थित दूतावासको पहलमा काठमाडौंस्थित राष्ट्र बैंकबाट केही अभिभावकले आफ्ना छोराछोरीलाई आवश्यक खर्च समेत पठाउनुपरेको थियो ।

‘स्थानीय गैर आवासीय नेपाली प्रतिनिधि र साइप्रसस्थित अवैतनिक नेपाली बाणिज्यदूतले पनि नेपाली विद्यार्थीलाई आइपरेको समस्या सुल्झाउन सहयोग गरिरहनुभएको छ,’राजदूत शाक्यले भनिन् । घर फर्कन चाहने विद्यार्थीको विवरण दूतावासले संकलन गरिरहेको उनले जानकारी दिइन् । पछिल्ले तथ्यांकमा साइप्रसमा ७ सयभन्दा बढी स्थानीय नागरिक कोरोना संक्रमित भेटिएका छन् भने १२ को मृत्यु भइसकेको छ ।

इजराइलमा पनि कृषि मजदूर, केयर गिभर महिला र विद्यार्थी गरेर ३ हजारभन्दा बढी नेपाली छन् । इजराइलमा झण्डै १३ हजार इजरायली कोरोनाबाट संक्रमित भेटिएकोमा १ सय ४० को निधन भैसकेको छ । इजराइलमा नेपाली समुदाय कोरोना संक्रमणबाट सुरक्षित रहेको राजदूत शाक्यले जानकारी दिइन् ।

यता दक्षिण एशियाली छिमेकी राष्ट्र बंगालादेशमा मेडिकल शिक्षा लिन गएका ६ सयभन्दा बढी नेपाली विद्यार्थीले पनि कोरोना संन्त्रासका कारण घर फर्कने मनस्थिती बनाएका छन् । ‘घर फर्कन चाहने विद्यार्थीका हकमा हामीले इमर्जेन्सी अनलाइन रजिष्ट्रेसन सुरु गरेका छौं,’ ढाकास्थित राजदूत डा.बंशीधर मिश्रले कान्तिपुरसँग भने- ‘कहींकतै नेपाली विद्यार्थीले कुनै प्रकारको संकट बेहोर्ने स्थिती आएमा सम्पर्क गर्नु भनेर हटलाइन दिएका छौं ।’ राजदूत मिश्रले महामारीको सन्त्रासमाझ विद्यार्थीको घर फिर्ने इच्छा देखिएपनि ‘तत्काल सम्भव नभएको’ र यसबारे नेपाल सरकारलाई अवगत गराइसकिएको जानकारी दिए ।

‘हामीले विद्यार्थीलाई सम्झाइबुझाइ राखेका छौं,’राजदूत मिश्रले भने- ‘नेपाल सरकारले अब घर फर्काइने भन्ने नीति तय नगरिन्जेल सुरक्षित भएर जहाा छौ, त्यहीं बस्नू भनेर दूतावासले गरेको आग्रहलाई विद्यार्थीले मानिरहेको स्थिती छ ।’ स्वास्थ्य र सुरक्षाका हिसाबमा बंगालादेशमा त्यति आत्तिनुपर्ने स्थिति नरहेको उनले बताए । पछिल्लो तथ्यांकमा, बंगालादेशमा १५ सयभन्दा बढी कोरोना संक्रमित स्थानीय नागरिक देखिएका छन् भने ६० जनाको निधन भइसकेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया