आरडीटीमा पोजिटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ आइरहेको छ :मन्त्रालय

  बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : देशका विभिन्‍न ठाउँबाट आरडीटी विधिबाट कोरोना पोजिटिभ देखिएकोलाई पीसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कुनै संक्रमित नभेटिएको जनाएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ। हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगन्‍जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् ।

बिहीबारसम्‍म देशभर आरडीटी विधिबाट हालसम्‍म १२ हजार १ सय ९२ परीक्षण भएका छन् भने पीसीआर विधिबाट ७ हजार २ सय ४० नमुना परीक्षण भएका छन्। हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट १९ हजार ४ सय ३२ वटा परीक्षणहरु भएका छन् ।

त्यसैगरी, आजको अपडेटमा आइसोलेसनमा देशभरी १ सय ३ जना रहेका छन्। काठमाडौंमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना रहेका छन्। क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना रहेका छन्।

मिडिया ब्रिफिङका क्रममा बोल्दै औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको ढुवानी, उपलब्धता, गुणस्तरीयताको लागि अनुगमन गरिरहेको बताए।

उनले समय मिलाएर फार्मेसी सञ्चालन गर्ने प्रबन्ध मिलाइएको बताए। भविष्यमा आवश्कयता हुन सक्ने खालका र अभाव हुन नदिन १ सय ८९ वटा औषधीको खरिद पक्रियाको लागि अघि बढाइएको समेत उनले जानकारी दिएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया