कोरोना शंकास्पद भनिएका व्यक्तिका परिवारसहित ४० जनाको रिपोर्ट नेगेटिभ

  बैशाख ०४, २०७७

रुकुम पश्चिम, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद भनिएका यहाँका एक परिवारका अन्य सदस्यमा कोरोना नेगेटिभ आएको छ । बिहीबार ती व्यक्तिका परिवारका ४ सदस्य र आफन्त तथा गाउँले गरी ४० जनाको द्रुत परीक्षण गरिएको थियो ।

परीक्षणमा ४० जनाको रिपोर्ट नेगेटिभ आएको बाँफिकोट गाउँपालिका–७ का अध्यक्ष नरबहादुर खत्रीले बताए । ती व्यक्तिका परिवारका अरु ४ जनाको पीसीआर परीक्षणका लागि स्वाबसमेत संकलन गरिएको छ ।

गत चैत्र १० गते भारतबाट घर पुगेका ती ३७ वर्षीय व्यक्ति शंकास्पद भएको भन्दै बुधबार चौरजहारी आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ । शंकास्पद भनिएपछि स्वास्थ्य कार्यालय र प्रदेश जनस्वास्थ्य कार्यालयको टोलीले द्रुत परीक्षण तथा स्वाब संकलन गरिरहेको छ ।

सोही गाउँपालिका ६ का ३६ वर्षीय अर्का व्यक्ति पनि शंकास्पद छन् । उनलाई पनि बुधबार नै चौरजहारी आइसोलेसन अस्पताल भर्ना गरिएको छ । अहिले ६ नम्बर वडामा द्रुत परीक्षण र स्वाब संकलन कार्य चलिरहेको छ ।

ल्याब टेक्निसियनहरुले रिपोर्ट सार्वजनिक नगरेकाले पोजेटिभ वा नेगेटिभ भन्ने केही खुलेको छ । आरडीटी र पीसीआरका लागि हालसम्म १ सय १७ जनाको रगत तथा स्वाब संकलन भइसकेको जनाइएको छ ।

उनी भारतबाट गत चैत्र ९ गते घर पुगेका थिए । यसअघि यी दुवैसहित ३९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको थियो इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया