स्वचालित स्यानीटाइजनर मेसिन सञ्चालनमा

  बैशाख ०४, २०७७

चितवन, वैशाख ३ : चितवन र नवलपरासी आवतजावत गर्नेहरूले स्वचालित स्यानीटाइजर मेसिनमा अनिवार्य बस्नुपर्ने भएको छ । नारायणी पुलको नारायणगढतर्फको पुलचोकमा स्वचालित सो मेसिन उपकरण जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।

चितवनतर्फ आउने र नवलपरासीतर्फ जाने जो कोहीले पुलचोकमा रहेको वाक थ्रू स्वचालित स्यानिटाइजिङ च्याम्बरमा अनिवार्य रूपमा छिर्नुपर्नेछ । नेपाली युवा उद्योगी मञ्च चितवनले सो च्याम्बर सञ्चालनमा ल्याएको हो । कोभिड–१९ को सङ्क्रमण बाहिरबाट आएकाका कारण जिल्लामा नहोस् भन्ने उद्देश्यले यो च्याम्बर सञ्चालन गरिएको हो । च्याम्बरको आज चितवनका प्रजिअ नारायणप्रसाद भट्टराईले उद््घाटन गर्नुभयो ।

सो अवसरमा प्रजिअ भट्टराईले यसले कोरोना रोकथाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला प्रवेश गर्ने र बाहिरिने दुवैलाई यसको उपयोगिताका बारेमा जानकारी गराई प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । जिल्लामा कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि स्थानीय प्रशासनले लकडाउनलाई प्र्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको भट्टराईले बताउनुभयो । पैदल आएका वा सवारीमा आएकालाई सो च्याम्बरमा राखेर १० सेकेन्ड घुमेपछि शरीर पूरै स्यानिटाइजिङ गरिनेछ ।

मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार रु एक लाख ५० हजारको लागतमा निर्माण गरिएको सो च्याम्बरमा उच्चस्तरीय कीटनाशक रसायन प्रयोग गरिएको छ । त्यसले मानिसलाई पाँच घण्टासम्म सुरक्षित राख्ने उहाँले जानकारी दिनुभयो । युवा उद्यमी राजेश गौतमले एकपटकमा चारजनासम्मको स्यानिटाइजिङ गर्न सकिने बताउनुभयो । मञ्चले चैत २३ गतेदेखि लकडाउनको समयमा पैदल आएका यात्रीहरूलाई पुलचोकमा नै खाना खुवाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया