लकडाउनमा पनि रेलमार्ग निर्माणको काम चल्दै

  बैशाख ०४, २०७७

सर्लाही, वैशाख ३ : लकडाउनको समयमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।

अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् । उनीहरुले काम गर्दा आपसमा दुरी काम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन् ।

निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको हो । बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिनुभयो ।

आफूहरुले काम मात्रै नगरेर रेलमार्ग निर्माणका लागि जम्मा गरिएका सामग्री कुर्ने काम समेत गरिरहेको मजदुरहरुले बताएका छन् ।

लक डाउन सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र बीच जङ्गलमा सामानको सुरक्षाका निम्ति पनि काम गर्नु परेको श्रेष्ठको भनाइ छ । उहाँले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण नहुञ्जेल बाहिरबाट कामदार नल्याइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया