परिवार सदस्यको मृत्यु संस्कारमा जानेबाहेक अन्यलाई सवारी पास नदिइने

  बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले परिवार सदस्यको मृत्यु संस्कारमा जानुपर्ने अवस्थाबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नगर्ने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सूचना जारी गर्दै सवारी पास माग्नेहरूकाे भीडले लकडाउन उल्लंघन हुने अवस्था सिर्जना भएकाले यस्ताे निर्णय गरिएकाे जनाएका छन् ।

सवारी पासको दुरुपयोग बढेपछि प्रशासनले बुधबारदेखि लागू हुने गरी मृत्यु संस्कारमा जानुपर्नेहरूबाहेक अन्यलाई पास दिन राेकेकाे हाे । लकडाउनपछि सवारी पास दुरुपयाेग गर्ने १२ सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको थियो ।

औषधि, अत्यावश्यक खाद्यान्न, तरकारी, खानेपानीलगायत ढुवानी, स्वास्थ्य सेवा र सञ्चार माध्यमसहितका लागि सातदिने म्याद राखेर यसअघि जारी गरिएकाे पहेँलो रंगको सवारी पास वैशाख १५ सम्मका लागि काम लाग्ने सहायक प्रजिअ कटुवालले जानकारी दिए । उनले अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि घर फर्कन पनि नयाँ सवारी पास नराेकिने बताए ।

तपाईको प्रतिक्रिया