सनसिटीमा बस्ने २९६ को आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

  बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : पेप्सीकोला टाउनप्लानिङस्थित कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ ।

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन। ‘सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिनुभएको छ,’ उनले भने, ‘संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो। हामीलाई डाक्टरले सबैको नेगेटिभ आएको बताउनुभएको छ।’

मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागकाे टोलीको छ। ‘विभागको टोली र हामीले अध्ययन गर्दा लगभग १३सय जनाजतिको आरडीटीबाट परीक्षण गर्नुपर्ने देखेका छौं। उहाँहरूले पनि त्यही भन्नुभएको छ,’ उनले भने, ‘बाँकी निर्णय त स्वास्थ्य मन्त्रालयले लिन्छ होला।’

उनले आजका लागि भने परीक्षणको काम लगभग सकिएको र भोलि पुनः परीक्षण हुने बताए। ‘१२–१३ सय मानिसको परीक्षण गर्न त ३–४ दिन लाग्छ होला,’ उनले भने, ‘आज पनि हामीले पहिले बिरामीहरूको परीक्षण गरेका थियौं।’

मेयर थापाका अनुसार आज अपार्टमेन्ट परिसरमा डिसइन्फेक्टेन्ट छर्किने काम पनि भएको छ। बाहिर सडकतिर पनि डिसइन्फेक्टेन्ट छर्किइएको थियो। सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरेर राख्नेबारे छलफल भइरहेको थापाले बताए। उनका अनुसार भवन सिल गरेर राखिएको अवस्थामा त्यहाँ बस्नेहरूका लागि अपार्टमेन्ट व्यवस्थापन समिति र वडा कार्यालयबीच समन्वय गरेर अवश्यक सामग्री पूर्ति गर्ने व्यवस्था मिलाइँदै छ।

‘भवन सिल गरेकोतीन दिन भइसक्यो। त्यहाँ बस्नेहरूलाई सामान चाहिएको होला। हामीले त्यो बुझेका छौं,’ उनले भने, ‘त्यसैले वडाध्यक्ष तथा त्यहाँको व्यवस्थापन समितिलाई सहकार्य गर्न भनेका छौं। प्रहरीहरूसँग मिलेर आवश्यक सामग्री आपूर्तिको व्यवस्था मिलाउँदै छौं।’

वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो।

उनीहरू तीनै जना चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका थिए । दुवै संक्रमितलाई अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया