एक लिटर घिउमा ६० रुपैयाँ मूल्यवृद्धि

  बैशाख ०३, २०७७

नेपालगञ्ज, वैशाख ३ : लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ ।

नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।


उपभोक्ताले बढी मूल्य किन लिएको भनेर गुनासो गर्नेबित्तिकै व्यापारीको सहज जवाफ आउने गर्छ, ‘थोकमा माल नै पाइँदैन, हामीले पनि बढी मूल्य तिरेर ल्याउने गरेका छौँ’, व्यापारीको भनाइ उद्धृत गर्दै नेपालगञ्ज-१९ का लक्ष्मण केसीले भन्नुभयो ।

उहाँका अनुसार लकडाउनअघिसम्म अस्पताल क्षेत्रको अनुपम डेरीबाट एक हजार प्रतिलिटरमा पाइँदै आएको घिउ अहिले प्रतिलिटर एक हजार ६० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उपभोक्ताका गुनासा आपूmले पनि सुन्ने गरेको बताउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने पसलको अनुगमन गरी कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो ।

लकडाउनअघि बजार अनुगमन गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता संरक्षण कार्यालयको भूमिका शून्य भएपछि पनि व्यापारीले कृत्रिम अभाव र मनपरी मूल्य लिने गरेका छन् । वाणिज्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भने बजार अनुगमन गरिएको जिकिर गरिरहनुभएको छ । 

तपाईको प्रतिक्रिया