१० घरमा एकैपटक चट्याङ, एकको मृत्यु, चार गम्भीर घाइते

  बैशाख ०३, २०७७

हेटौँडा, बैशाख ३ : मकवानपुरको विकट स्थानमा रहेको राक्सिराङ गाउँपालिका वडा नं ७ धिराङमा एकैपटक १० वटा घरमा चट्याङ लागेको छ । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
चट्याङ लागेर घटनास्थलमै मृत्यु हुनेमा ४० बर्षीया चैतसिं चेपाङ रहेको स्थानीय बासिन्दा समेत रहनु भएका बागमती प्रदेश सभाका सदस्य सन्तबहादुर चेपाङ जानकारी दिनुभयो ।

मंगलबार साँझ ८ः३० बजे लागेको चट्याङका कारण कृष्णबहादुर चेपाङ, कालीबहादुर चेपाङ, रामबहादुर चेपाङ र महेन्द्र चेपाङ गम्भीर घाइते रहेको प्रदेश सभा सदस्य सन्तबहादुरले जानकारी दिनुभयो । अन्य २० जना सामान्य घाइते भएका छन् ।

प्रदेश सभा सदस्य सन्तबहादुरले आफै घटनास्थल पुगेर गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि चितवनतर्फ लैजाने तयारी गरिएको बताउनुभयो । सामान्य घाइते भएकाहरुको उपचारका लागि राक्सिराङ गाउँपालिकालाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

धिराङ स्वास्थ्यचौकीमा आवश्यक औषधीहरु नभएकाले औषधीसहितको टोली पठाउन गाउँपालिकासँग माग गरिएको हो । दुर्गम क्षेत्रमा परेकाले समयै घाइतेको उपचार गर्ने व्यवस्था मिलाउन नसकिएको प्रदेश सभा सदस्य सन्तबहादुरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया