दिल्लीबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ

  बैशाख ०२, २०७७

राजविराज, वैशाख २ : दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । 

गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार मंगलबार गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको डा. दासले जनाए।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उनले जानकारी दिए। पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा पठाइने डा. दासले जनाए। पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

गत मार्च ८ र ९ तारिखमा दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो। १ जनाको अझै खोजी भइरहेको छ।

उनीहरुमध्ये ३ जना सप्तरीको खडग नगरपालिकाका तथा राजविराज नगरपालिका, सुरुङगा नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका १–१ जना रहेका छन्।

यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। उनीहरु लकडाउनभन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको र सबैजना भारतको इन्दौरका रहेको खुलेको छ।

११ जना भारतीयलाई उक्त मस्जिदमै क्‍वारेन्टाइन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया