सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित १६ पुगे

  बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

पाटन अस्पताल भर्ना गरिएकामध्ये दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ । एकजनाको भनेपीसीआर परीक्षण पुन: दोहोर्‍याइएको जानकारी पनि प्राप्त भएको छ। उनीहरू पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । नगरप्रमुख कृष्णहरि थापाका अनुसार पनिचैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या १६ पुगेको छ ।

उनीहरुमध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन ।

र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।

सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया