भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्वोधन गर्ने

  बैशाख ०१, २०७७

नयाँ दिल्ली, वैशाख १ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उहाँले मंगलबार सम्वोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री मोदीले स्थानीय समय अनुसार मंगलबार विहान १० बजे सम्वोधन गर्नुहुने भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सम्वोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनको पालना गरिदिएकोमा आम नागरिकलाई धन्यवाद दिदै थप दुई हप्ता लम्याउने घोषणा गर्नुहुने अपेक्षा गरिएको छ ।

लकडाउनको थपिएको अवधिमा केही आर्थिक कृयाकलापलाई भने खुकुलो पारिने अधिकारीहरुले जानकारी दिएका छन् । “प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अप्रिलका दिन विहान १० बजे राष्ट्रका नाममा सम्वोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

अधिकांश मुख्यमन्त्रीहरुले पनि लकडाउनको अवधि बढाउनु पर्ने सुझाव दिएकाले त्यस कुरालाई मध्यनजर गरिने कार्यालयका अधिकारीहरुको भनाई छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नु नै मुख्य उपाय भएकाले लकडाउनको थप आवश्यकता रहेको ठानिएको छ ।

मुख्यमन्त्रीहरुसँगको गत शनिबारको भिडियो बैठकमा लकडाउनलाई लम्व्याउनु पर्नेमा सवैको एक मत रहेको जनाइएको छ । लकडाउन घोषणा गर्दा प्रधानमन्त्री मोदीले स्वास्थ्य नै धन भएको भन्दै अहिले कमाउनभन्दा ज्यान जोगाउन ध्यान दिन आग्रह गर्नुभएको थियो ।

भारतको उज्ज्वल भविश्य, सम्वृद्धि र स्वच्छ भारतका लागि सवैले लकडाउनको पूर्ण पालना गर्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिनुभएको थियो । भारतका सात राज्यहरु महाराष्ट्र, ओडिसा, पन्जाव, पश्चिम बंगाल, कर्नाटक, तमिल नाडु र तेलंगनाले कम्तीमा यही अप्रिल ३० सम्म लकडाउन लम्व्याउने घोषणा यसअघि नै गरीसकेका छन् ।

भारतमा गत मार्च २५ तारिखदेखि देशव्यापी लकडाउन लागु भएको छ । लकडाउनलाई कडा बनाउन लकडाउन उलंघन गरेको हजाराँैलाई प्रशासनले कारबाही पनि गरेको छ । प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाई र लकडाउनलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्रीहरुसँग पटक पटक भिडियो बैठक गर्नु भएको छ भने उहाँले मन्त्रीपरिषद् बैठक पनि भिडियोबाटै गर्नुभएको छ ।

त्यसैगरी भारतको संसदमा प्रतिनिधित्व गरेका दलका नेताहरुसँग पनि प्रधानमन्त्री मोदीले छलफल गरेर सहकार्यका लागि आग्रह गर्नुभएको छ । भारतका केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०८ पुगेको छ । त्यसैगरी संक्रमित हुनेको संख्या नौ हजार १५२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया