लकडाउनसँगै मनाइयो नयाँ वर्ष २०७७

  बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण चैत ११ गतेदेखि जारी बन्दाबन्दीले यस वर्ष नेपालीले घरघरमै बसेर नयाँ वर्ष मनाएका छन् । कतिपयले सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाए ।

वर्षको पहिलो दिन मठमन्दिरमा गई पूजाआराधना गर्न चाहनेले यस वर्ष विगतमा जस्तो अवसर पाएनन् । धेरैले घरमै बसेर इष्ट एवं स्थानीय देवीदेवताको मानसिक रुपमा आराधना गरे । मूल शहरबाहिरको काँठ क्षेत्रमा भने केही मानिस नजीकैको मठमन्दिर धाइरहेका देखिन्थ्यो । मन्दिर जाँदा पनि मास्क लगाई दूरीमा आवतजावत गरेको देखिन्थ्यो ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउनुहुन्छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगाती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज भएन ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष भएन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई घरबाटै मानसिक रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले आह्वान गर्नुभएको थियो । पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको संगममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गम स्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला यस वर्ष स्थगित गरिएको छ । मेला स्थगित गरिए पनि वैशाख १ गते हुने विशेष पूजा भने यथावत् रुपमा भएको छ । विशेष पूजा भीडभाड नगरी पुजारीले मात्र गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया