अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

  बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : निजी क्षेत्रको अग्रणी सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ ।

कम्पनीका सञ्चालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई रु ५१ लाखको चेक हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ । प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गरेको छ ।

सरकारद्वारा नागरिकको जीवन रक्षाका लागि थालिएको अभियानमा उद्योगले दायित्वबोध गरी सहयोग प्रदान गरेको हो कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले राससलाई जानकारी दिनुभयो । सिमेन्ट कारखाना रहेको रुपन्देहीको सियारी गाउँपालिकालाई पनि उद्योगले दुई लाख सहयोग गरेको छ । यस्तै चुनढुंगा खानी रहेको पाल्पाको तिनाउँ गाउँपालिका र मचागढी गाउँपालिका लागि पनि रु २० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया