काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना

  बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो । अहिले अपार्टमेन्टमा यो ब्लकलाई प्रहरीले सिल गरेको छ ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त पक्राउ नै परेछन् ।’

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया