स्वास्थ्य मन्त्रीले भन्नुभयो– देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौला

  बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई कोरोना भाइरसको महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै मन्त्री ढकालले उक्त धारणा राख्नुभएको हो ।

महामारीका बेलामा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नु नै सरकारको प्रमुख दायित्व हुने मन्त्री ढकालले बताउनुभयो । ‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौला, उहाँले भन्नुभयो । महामारीविरुद्धको लडाई सबै एकजुट भएर मात्र लड्न सकिने उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा मन्त्री ढकालले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताउनुभएको छ । ‘उहाँहरुको स्वास्थ्यको प्रत्याभूति गराउन सरकार अत्यन्त सचेत छ,’ उहाँले भन्नुभयो, ‘व्यक्तिगत सुरक्षा सामग्रीलगायत सुरक्षा सामग्री यथेस्ट मात्रामा पु-याउन लागिपरेका छौं ।’

मन्त्री ढकालले अहिले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वब्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग गर्नबाट रोकी अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया