समस्याका बीचमा काम गर्नुपर्ने बाध्यता : मुख्यमन्त्री

  बैशाख ०१, २०७७

हेटौँडा, वैशाख १ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताउनुभएको छ । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

उहाँले व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गर्नुभयो । लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गरिनुपर्ने बताउनुभयो । उहाँले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पौडेलले आवाससहितका उद्योगलाई भने सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गर्नुभयो । मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

छलफलमा प्रदेशका प्रमुख सचिव तोयम रायले कृषि उपजलाई किसानबाट बजारसम्म पु¥याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले लकडाउन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मकवानपुरका प्रजिअ दीपकराज नेपाल, नेपाली सेना मध्य पृतना हेडक्वार्टरका पृतनापति ताराध्वज पाण्डे, जिल्ला समन्वय समिति वाग्मती प्रदेशका संयोजक रघुनाथ खुलाल, प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल लगायतका व्यक्तित्वले लकडाउनलाई प्रभावकारी बनाउन गर्न सकिने कार्यबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया