कोभिड–१९ को महामारीलाई साहसका साथ पार लगाइने छ : प्रधानमन्त्री

  बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा आज बिहान सन्देश दिँदै उहाँले देशभित्र र बाहिर रहनुभएका सबै नेपाली दिदीबहिनी दाजुभाइ तथा परिवारजन र आफन्तलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा सङ्क्रमितलाई यसमाथि विजय हासिल गर्न शुभकामना दिनुभएको छ ।

कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौँ भन्ने कामना पनि उहाँले गर्नुभएको छ । हामीले एउटा भिन्न प्रकृतिको असहज परिस्थितिबीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेकोे बताउँदै उहाँले भन्नुभयो, “पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ ।” कोभिड–१९ को महामारी र सङ्मक्रमणको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको पनि उहाँले बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, “कोभिड–१९ ले मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ठरुपमा आबद्ध भएको छ तर भौतिकरुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिङ्गो विश्वको अर्थव्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।”

कोरोना भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदै उहाँले सन्देशमा दुःखका पलमा हामीले नेपालीको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएको तथा आगामी दिनमा पनि सरकारलाई सम्पूर्ण देशवासीको निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक रहेको बताउनुभयो । “यस युद्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिँदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु–कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा हामी सचेत हुनुपर्छ”, उहाँले भन्नुभएको छ, “अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।” उहाँले हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छ भन्दै यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ‘यस महामारीबाट कूल गार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने’ भन्ने विभिन्न क्षेत्रका विद्वान्को विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको उल्लेख गर्नुभएको छ । सन्देशमा कोरोनापछिको क्षतिको आकलनका लागि सरकारले आपूmसम्बद्ध विभिन्न निकायलाई परिचालन गरिसकेको जनाउँदै उहाँले आउने हप्ता दिनसम्म महामारीको वेगको पूर्वानुमान हुन सक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

“आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिका आधारमा कोरोना–महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “ढुक्क होऔँ, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।”

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७७ मा दिनुभएको शुभकामना सन्देशको पूर्णपाठ :
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

– सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह«ै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।

– सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई सङ्क्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ । तपाईहरुको प्रधानमन्त्रीका रुपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।

– यतिखेर देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईँ र तपार्इँका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सक्नुहोस् १ जसलाई सङ्क्रमण भएको छ, उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् १ अनि, कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं १ यस भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।

– मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।

– यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए । शहर–बजार, टे«किङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो ।

– अहिले हामीहरु दूरगामी लक्ष्यसहित थालिएको ‘सगरमाथा सम्वाद’ भव्य रुपमा सम्पन्न भएकोमा खुशी मनाइरहेको हुने थियौँ । जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षको बारेमा विमर्श-विश्लेषण गरिरहेका हुने थियौँ ।

– समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आप्mनो विश्लेषण राखिरहेको हुने थिएँ । पाँचवर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दूरीबारे सम्वाद गरिरहेका हुने थियौँ ।

– तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौँ । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७७ शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु ।

तपाईको प्रतिक्रिया