करोडौंँको केरा बारीमै सड्दै

  बैशाख ०१, २०७७

लम्की, वैशाख १ : देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो ।

आफूहरूको करोडौंँ मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरूको गुनासो छ । ‘‘केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि बजारमा जान नपाएपछि समस्या भएको छ ’’, कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाह भन्नुहुन्छ, ‘‘हामी त घाटामा गयाँ, दैनिक लाखौंँको केरा खेर गइरहेको छ ।’’

शाहले अहिलेसम्म करीब रु ३० लाखको केरा नोक्सान भइसकेको बताउनुभयो । ‘‘अझै कति दिन लकडाउन हुन्छ थाहा छैन । केरा दैनिक बोटमै पाकेर झर्न थाले’’, शाहले भन्नुभयो, ‘‘यो आउंँदो वर्षका लागि तयार हुंँदै गरेका केरालाई मलजल गर्ने, स्याहार्ने समय पनि हो । लकडाउनका कारण कामदार पनि घर फर्किएका छन् । केराको स्याहारसमेत गर्न सकिएको छैन ।’’ असी बिघामा केरा खेती गर्नुभएका शाहका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पनि पर्नेछ । उहांँ केरा व्यवसायीको उत्पादन सहज बजारसम्म पुग्ने व्यवस्था गराउन सरकारसँग माग गर्नुहुन्छ ।

मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले रु ११ लाख बराबरको केरा खेर जाने अवस्था आएको बताउनुभयो । तेह्र बिघामा व्यावसायिक रूपमा केराखेती गर्नुभएका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक तीन सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहनुभएको छ । ‘‘बारीमा केरा सडिरहेको छ, त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु’’, चौधरी भन्नुहुन्छ, ‘‘उपभोक्ताले खान पाएका छैनन्, हाम्रो केरा खेर गएको छ । के गर्ने, विश्व नै समस्यामा छ ।’’

अंशु एण्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुंँवर पनि करीब रु २७ लाख बराबरको केरा कुहिएर खेर गएको बताउनुहुन्छ । ‘‘टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन, सबै कृषकको केरा बारीमै सडेको छ’’, कुंँवर भन्नुहुन्छ, ‘‘हामी ऋण गरेर व्यवसाय गरेका कृषक निकै समस्यामा पर्ने देखिएको छ ।’’

कैलालीको टीकापुरमा ७५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ । केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम नगरपालिकाले पनि सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया