कोरोना नियन्त्रणमा सफलता मिल्ने अध्यक्ष प्रचण्डको विश्वास

  बैशाख ०१, २०७७

काठमाडौँ, चैत ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ ।

नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गर्नुभएको छ । अध्यक्ष दाहालले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया