काठमाडौँ, चैत ३० : अंग्रेजी नयाँ वर्ष २०२० का सुरुवाति ३ महिना र विक्रम संवत् २०७६ का अन्तिम ३ महिना विश्वका लागि सुखद् रहेन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण विश्वका कैयौं शक्तिराष्ट्र कहलिएका देशलाई पनि हायलकायल बनाइरहेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण न त चिनियाँ नयाँ वर्ष मनाउन पाइयो, न त अंग्रेजी नयाँ वर्ष नै। कोरोना त्रासका बीच नेपाली नयाँ वर्ष २०७७ पनि कुनै औपचारिक कार्यक्रमबिना जो जहाँ जस्तो अवस्थामा छ, त्यसरी नै मनाउन पर्ने बाध्यता छ। व्यापार, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका हिसाबले २०७६ सुखद रहेन।
२०७६ सालका महत्वपूर्ण विश्वघटना
कोरोना महामारीले आक्रान्त विश्व समुदाय
डिसेम्बर ३१, २०१९ – चीनले हुबेई प्रान्तको वुहानमा असामान्य खालको निमोनिया देखिएको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई जानकारी गरायो। केही कामदारमा अज्ञात भाइरसको संक्रमण भएपछि वुहानको हुवानान सिफुड होलसेल मार्केट अंग्रेजी नयाँ वर्ष २०२० सँगै बन्द गरियो। जनवरीमा ५ मा चिनियाँ अधिकारीले सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम(सार्स) नै दोहोरिएको सम्भावना रहेको जानकारी दिए।
जनवरी ११ मा सिफुड मार्केटबाट सामान किन्ने एक जना ६१ वर्षीय पुरुषको मृत्यु भयो। भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ती व्यक्तिको जनवरी ९ मा मृत्यु भएको थियो। त्यस्तै जनवरी ७ मा डब्लूएचओको अनुसार चिनियाँ अधिकारीले नयाँ भाइरस भएको पत्ता लगाए। कोरोना भाइरस परिवारकै भाइरस भएकाले यसलाई २०१९ नोवल कोरोना भाइरसको नाम दिइयो।
जनवरी १३ मा चीनबाहिर पहिलो पटक थाइल्यान्डमा पहिलो संक्रमित भेटिए। थाइल्यान्डका संक्रमित व्यक्ति चीनको वुहानबाट फकिएका थिए। जनवरी १७ मा दोस्रो संक्रमितको मृत्यु भयो। यही बीचमा अमेरिका, नेपाल, फ्रान्स, अस्ट्रेलिया, मलेसिया, सिंगापुर, दक्षिण कोरिया भियतनाम र ताइवानलगायतका देशमा पनि कोरोना भाइरसका संक्रमित भेटिए। त्यसको केही दिनमै फिलिपिन्स, भारत, रुस, स्पेन, इटाली, अस्ट्रेलिया, क्यानडा, जर्मनीलगायतका देशमा कोरोना संक्रमण फैलियो।
चीनमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको १३ दिनपछि माघ १० गते(जनवरी २४) मा नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। हुबेईको वुहानबाट फर्किएका ३२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालका पहिलो कोरोना संक्रमित निको भएर अहिले घरमै सामान्य दैनिकी बिताइरहेका छन्। यो सामग्री तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ। संक्रमितमध्ये केहीलाई एक दुई दिनमै डिस्चार्ज गरिने टेकु ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जानकारी दिएको छ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्लूएचओले माघ १६ गते(जनवरी ३०) मा विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गर्यो। फेब्रुअरी २ मा चीनबाहिर कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्समा पहिलो पटक मृत्यु भएको थियो।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिबेला विश्वका २ सयभन्दा बढी देशमा फैलिइसको छ। उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भए पनि अमेरिका, इटाली, स्पेन, बेलायत, फ्रान्स, इरानलगायतका देशमा भने झनझन फैलिइरहेको छ। विश्वका २ सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरसका कारण आइतबार दिउँसोसम्म एक लाख ८ हजार ८ सय ६७ जनाको मृत्यु भइसकेको छ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या करिब १७ लाख ७७ हजार पुगेको छ भने तीमध्ये ४ लाख ४ हजार निको भएका छन्।
हालसम्म कोरोना भाइरसविरुद्धको औषधि र खोप पत्ता लागेको छैन। बिरामीको शरीरमा रहेको रोगप्रतिरोधात्मक क्षमता नै कोरोना भाइरसबाट पार पाउने एक मात्रै उपाय हो। अहिले संसारभरका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धानमा जुटेका छन्। आशा गरौँ, नयाँ वर्ष २०७७ सँगै मा कोरोना भाइरसविरुद्धको भ्याक्सिन, औषधि पत्ता लाग्नेछ र विश्वले चयनको श्वास फेर्न पाउनेछ।
जर्नेल कासिम सुलेमानीको ‘हत्या’ र इरान–अमेरिका द्वन्द्व
यसै वर्षको पुसमा इराक बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको हवाई आक्रमणमा इरानी कुद्स फौजका जर्नेल कासिम सुलेमानीसहित ६ जनाको मत्यु भएपछि इरान–अमेरिका द्वन्द्व उत्कर्षमा पुगेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीले अमेरिकाविरुद्ध आक्रमण गर्ने षड्यन्त्र रचिरहेकाले उनीमाथि कारबाही गरेको बताए। तर इरानले भने आफ्नो सार्वभौमसत्तामाथि आक्रमण भएको उल्लेख गर्दै अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो।
सुलेमानीको ‘हत्या’ पछि इरानले इराकमा रहेको अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गर्दै केही दिनसम्म क्षेप्यास्त्र पनि हानिरह्यो। अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका विज्ञहरुले अमेरिका–इरान टकराव युद्धमा परिणत हुन सक्ने बताइरहँदा कोरोना भाइरसको महामारी फैलिएसँगै दुई देशबीचको तनाव घट्दै गएको छ। कोरोना भाइरसको महामारीबाट बढी प्रभावित हुने मुलुकमा इरान पनि पर्छ। अमेरिकाले लगाएको नाकाबन्दीका कारण कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा असर परेको इरानले बताउँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको सुरुवातमा इरानले सहयोग मागेमा आफू सहयोग गर्न तयार रहेको बताएका थिए। यतिबेला अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको छ। उसले अरुलाई सहयोग गर्नुभन्दा पनि आफ्नै देशभित्र कसरी महामारी नियन्त्रण गर्न सकिन्छ भनेर लागिरहेको छ।
ट्रम्पले पाए सफाइ
यसै वर्षको माघमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाए। अमेरिकाको माथिल्लो सदन सिनेटमा भएको मतदानले उनलाई उन्मुक्ति दिएको हो। यसका साथै उनको राष्ट्रपति पद पनि जोगिएको थियो।
ट्रम्पले शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा ४८ मत परेको थियो भने विपक्षमा ५२ मत परेको थियो। त्यस्तै अमेरिकी संसद् अवरुद्ध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त गरे। एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ। अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन्। राष्ट्रपतिविरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता पर्छ।
आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्ति (युक्रेन) माथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडनविरुद्ध भष्ट्राचारको छानबिन गर्न दिएको आरोप ट्रम्पमाथि लागेको थियो। माथिल्लो सदनले अनुमोदन नगरे पनि तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।
राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो। सिनेटले सफाइ दिएसँगै ट्रम्पले आफ्नो पूरा कार्यकाल बिताउन पाउने भएका हुन्। उनले पटक पटक आफूले शक्तिको दुरुपयोग नगरेको दाबी गर्दै आएका थिए
मुसरर्फलाई मृत्युदण्ड दिने फैसला उल्टियो
यसै वर्षको पुसमा पाकिस्तानका पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसरर्फलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसला उल्टिएको थियो। पूर्वराष्ट्रपति मुसरर्फलाई मृत्युदण्ड दिने त्यहाँको विशेष अदालतले सुनाएको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको हो। उच्च अदालतको फूल बेन्चले मुसर्रफबारे विशेष अदालतको फैसलालाई गैरकानुनी भन्दै उल्ट्याइदिएको हो।
डिसेम्बर १७, २०१९(पुस १, २०७६) मा देशद्रोहको मुद्दामा मुसर्रफलाई पाकिस्तानको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसको विरोधमा उनी उच्च अदालत गएका थिए।विशेष अदालतले मुसर्रफलाई सजाय सुनाउने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको उच्च अदालतले आफ्नो फैसलामा बताएको थियो।
सन् २०१३ मा चुनाव जितेपछि नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लीग (नवाज) ले पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध संविधान उलंघनको मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दा अन्तिम फैसला पुग्दासम्म विशेष अदालतमा चार न्यायाधीश परिवर्तन भएका थिए। त्यसक्रममा मुसर्रफ एकपटक मात्र विशेष अदालतमा उपस्थित भएका थिए।
मुसर्रफले सन् २०१६ मा उपचारका लागि भन्दै पाकिस्तान छोडेका थिए। मृत्युदण्डको फैसला सुनाउने बेला उनी विदेशमा नै थिए। उनलाई मृत्युदण्ड सुनाएपछि पाकिस्तानको सेना र सरकारले असन्तुष्टि जनाएको थियो।
दिल्ली हिंसामा कम्तीमा ५३ जनाको मृत्यु
संशोधित नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनले दिल्लीमा हिंसात्मक रुप लिएपछि कम्तीमा ५३ जनाको ज्यान गयो। फागुनमा उत्तरपूर्वी दिल्लीको केही भागमा नागरिकतासम्बन्धी कानुनको समर्थन र विरोधमा उत्रिनेबीच हिंसात्मक झडप र आगजनीमा कम्तीमा ५३ जनाको ज्यान गएको हो। दिल्लीका कैयौं स्थानमा घर, पसल, सार्वजनिक यातायातका साधन तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी भएको थियो। नागरिकता कानुनको विरोधमा भारतभर प्रदर्शन भइरहेको थियो। कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रदर्शन पनि मत्थर हुँदै गए।
भारतका दुवै सदन लोकसभा र राज्यसभाले मंसिरमा नागरिकता संशोधन विधेयक पारित गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भयो। नयाँ कानुनअनुसार सन् २०१४ को डिसेम्बर ३१ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ । विधेयक पारित भएसँगै पूर्वोत्तर राज्यमा गैरकानुनी रूपमा बस्दै आएका विशेषगरी बंगलादेशी हिन्दु आप्रवासीले नागरिकता पाउने र आफूहरू राजनीतिक रूपमा अल्पमतमा पर्ने तथा पहिचान र संस्कृति खतरामा पर्ने भन्दै असम र त्रिपुराका रैथाने विरोध प्रदर्शनमा उत्रेका हुन्।
त्यसैगरी, मुस्लिमहरूले नयाँ कानुनमा आफूहरूलाई नसमेटिएको भन्दै भारतीय जनता पार्टी अध्यक्ष अमित साहको योजनामा भारतलाई हिन्दुत्वको बाटोमा डोर्याउन थालेको भन्दै चर्को विरोध जनाएका हुन्।
कश्मीर विवाद र भारत–पाक तनाव
यसै वर्ष भारत सरकारले जम्मू–कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेसँगै जम्मू र कश्मीर तथा लद्दाख भारतको केन्द्र शासित राज्य भएका छन्। नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध जम्मू–कश्मीर क्षेत्रमा कैयौं दिनसम्म विरोध प्रदर्शन जारी रह्यो । विरोध प्रर्दशन उग्र बन्दै गएपछि भारत सरकारले उक्त क्षेत्रमा कर्फ्यु जारी गर्नुका साथै विरोधमा उत्रेका नेताहरूलाई पक्राउ गर्यो।
उक्त निर्णयसँगै लामो समयदेखिका शत्रुराष्ट्र भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुग्यो। ‘भारतीय कदम खतरनाक खेल’ भएको प्रतिक्रिया जनाएको पाकिस्तानले उक्त निर्णयविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत सशक्त आवाज उठायो।
लोकतन्त्र माग्दै प्रदर्शन
विक्रम संवत २०७५ सालको चैत १ गतेबाट सुरु भए पनि २०७६ सालमा चीन प्रशासित हङकङमा सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन लोकतन्त्रका विभिन्न पक्षमा केन्द्रित रह्यो।
पछिल्लो समय प्रदर्शनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लाम राजीनामा, सुपुर्दगी विधेयक खारेजी तथा प्रदर्शनका क्रममा भएका हिंसाको स्वतन्त्र छानबिनको माग राख्दै आएका छन्। प्रदर्शनले उग्ररूप लिँदै गएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न औद्योगिक प्रतिष्ठान बन्द भएपछि हङकङको आर्थिक अवस्था नाजुक बन्यो।
चीन–अमेरिका व्यापार युद्ध
२०७६ सालमै विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच कोरोना भाइरसलाई लिएर आरोपप्रत्यारोप मात्रै भएन, अरु थुप्रै विषयमा मतभेद सिर्जना भए। यसै वर्षको सुरुवाततिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ खर्ब ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धिको घोषणा गरे । त्यसको प्रतिउत्तरमा चीनले १ खर्ब ८५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर बढायो।
चीनले अमेरिकको बौद्धिक सम्पत्ति चोरी गरेको आरोपसँगै चिनियाँ समानमा करवृद्धि गरेपछि सुरु भएको तनाव दूरसञ्चार कम्पनी हुवावेका कारण चुलियो। अमेरिकाले हुवावेको ५–जी सेवा तथा उसले निर्माण गरेका मोबाइल सेट असुरक्षित रहेका बताउँदै पश्चिमा देशलाई ती प्रविधि प्रयोग नगर्न दबाद दिए। जसका कारण चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुवावेमाथि आर्थिक दबाद पर्यो।
‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति
सन् २०१९ को डिसेम्बर २८(पुस १२, २०७६) मा जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितिन्। जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्त्वका साथ लिइयो।
टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३३ लाख जापानी येनभन्दा बढी जरिवाना तिर्नसमेत आदेश दियो। आफूलाई कामबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार गरिएको भन्दै इटोले दोषीउपर कडा कारबाही तथा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेकी थिइन्।
श्रीलंकामा दाजुभाइको सत्तारोहण
श्रीलंकामा नोभेम्बर १६(कात्तिक ३०, २०७६) मा भएको राष्ट्रपतीय चुनावमा गोटाभया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए। त्यसको केही दिनमै गोटाभायले आफ्ना दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरे।
सन् २००५ देखि १० वर्ष श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किएसँगै राष्ट्रपति र प्रधानमन्त्रीको पद दाजुभाइले सम्हाले ।
राजगद्दी छाड्ने जापानी सम्राटको ऐतिहासिक निर्णय
सन् २०१९को अप्रिल ३०(वैशाख २०७६ ) मा जापानी सम्राट्ले इतिहासमै दुर्लभ निर्णय लिए। जापानी सम्राट् अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय गरे। जापानको २ सय वर्षभन्दा लामो समयसम्म नभएको घटनापछि उनका छोरा, ५९ वर्षका नारुहितो जापानका सम्राट बने। नयाँ राजाको गद्दी आरोहणसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ।
कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्वका विभिन्न देशमा भएका राजनीतिक, सामाजिक र वैज्ञानिक क्षेत्रमा भएका थुप्रै घटना छायाँमा परेका छन्। कोरोना भाइरसको संक्रमण फैलिएसँगै इरान–अमेरिका टकराव, अमेरिका–चीन व्यापारयुद्ध, भारत–अमेरिका व्यापार सम्बन्धमा टकराव, उत्तर कोरिया–अमेरिका शान्ति वार्तालगायत थुप्रै महत्वपूर्ण वैश्विक घटनाहरु ओझेलमा परेका छन् । (एजेन्सीहरुको सहयोगमा इकान्तिपुर अनलाइन)